गरिमा चौधरी हत्या प्रकरणमा प्रहरीको भूमिकामाथि छानबिन समिति गठन, अनुसन्धानमा काठमाडौँबाट अनुभवी अधिकारी खटाइए

गरिमा चौधरी हत्या प्रकरणमा प्रहरीको भूमिकामाथि छानबिन समिति गठन, अनुसन्धानमा काठमाडौँबाट अनुभवी अधिकारी खटाइए
स्पर्श खबर जितपुर बारा भदौ ८ गते:

बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित दसदुरे सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीबाट भएको भनिएका कमजोरीबारे छानबिन गर्न समिति गठन गरिएको छ।


मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो। समितिमा अनुसन्धानको अनुभव भएका प्रहरी अधिकारीसमेत सहभागी गराइएको प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिएका छन्।
छानबिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजु अधिकारीलाई समेत काठमाडौंबाट खटाइएको बताइएको छ। घटनाको अनुसन्धान र प्रहरीको भूमिकालाई छुट्टाछुट्टै कोणबाट अध्ययन गरी आवश्यक निष्कर्षमा पुग्ने तयारी गरिएको छ।
तीन वर्षीया बालिका बेपत्ता भएदेखि नै प्रहरीको भूमिकामाथि स्थानीय तथा पीडित पक्षबाट प्रश्न उठ्दै आएको थियो। बालिका हराएपछि खोजीमा अपेक्षित सक्रियता नदेखाएको आरोपदेखि घटनासँग सम्बन्धित आरोपितको भिडियो सार्वजनिक गरिएको विषयसम्म प्रहरी विवादमा परेको थियो।
जघन्य अपराधको अनुसन्धानमा प्रहरीको प्रारम्भिक भूमिकाले नै घटनाको वास्तविकता पत्ता लगाउने र पीडितलाई न्याय दिलाउने प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने भएकाले प्रहरीमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन गर्न माग हुँदै आएको थियो।
अब गठन भएको समितिले बालिका बेपत्ता भएदेखि उद्धार तथा खोजीको क्रममा प्रहरीको भूमिका, अनुसन्धानका क्रममा भएका कमजोरी, सूचना व्यवस्थापन तथा आरोपितसम्बन्धी सामग्री सार्वजनिक गरिएको विषय लगायतका पक्ष अध्ययन गर्ने अपेक्षा गरिएको छ।
घटनाले देशभर आक्रोश सिर्जना गरिरहेका बेला प्रहरीकै भूमिकामाथि छानबिन समिति गठन भएपछि अनुसन्धान कति निष्पक्ष र प्रभावकारी ढंगले अघि बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ। दोषी जोसुकै भए पनि प्रमाणका आधारमा कडा कारबाही र प्रहरीको भूमिकामा कमजोरी देखिए सम्बन्धित जिम्मेवार अधिकारीमाथि समेत कारबाही हुनुपर्ने आवाज उठिरहेको छ।