लोकतन्त्र बलियो हुन्छ : मन्त्री गौतम
स्पर्श खबर जितपुर बारा साउन २५ गते:
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मातृभाषामा सूचना तथा सञ्चारको पहुँच सुनिश्चित गर्न सके मात्रै लोकतन्त्र थप समावेशी, सुदृढ र प्रभावकारी बन्ने बताएकी छन्।
तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको पहिचान भूगोल र दस्तावेजमा मात्र सीमित नभएको बताउँदै यहाँका परम्परा, संस्कृति र पुस्तौँदेखि बोलिँदै आएका मातृभाषा पनि राष्ट्रिय पहिचानका महत्वपूर्ण आधार भएको उल्लेख गरिन्।
नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले भाषिक तथा सांस्कृतिक विविधताको सम्मान र संरक्षण गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको उनको भनाइ थियो।
“कुनै पनि समाजमा लोकतन्त्र त्यतिबेला मात्र बलियो हुन्छ, जतिबेला नागरिकले आफ्नै मातृभाषामा आफूलाई सुसूचित हुने अवसर पाउँछन्,” मन्त्री गौतमले भनिन्। नागरिक र राज्यबीचको सूचना तथा बुझाइको दूरी घटाउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उनले स्पष्ट पारिन्।
मन्त्री गौतमले मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकार तथा सञ्चारकर्मीको योगदानको प्रशंसा गर्दै विभिन्न भाषामा पत्रकारिता गर्ने अभ्यासलाई अझ व्यापक बनाउन आग्रह गरिन्। उनका अनुसार मातृभाषामा पत्रकारिता गर्नु भाषा संरक्षण मात्रै नभई समुदायलाई राज्यका नीति, निर्णय र गतिविधिबारे आफ्नै भाषामा जानकारी पाउने अधिकार सुनिश्चित गर्नु पनि हो।
उनले उदाहरण दिँदै भनिन्, “मिथिला क्षेत्रमा बस्ने, भोटमा भेडा चराइरहेकी आमाले पनि राज्यले के गरिरहेको छ भन्ने कुरा थाहा पाउने अधिकार राख्छिन्।”
कतिपय भाषा संग्रहालयमा सुरक्षित राखेर मात्र संरक्षण नहुने भन्दै मन्त्री गौतमले भाषालाई जीवित राख्न दैनिक जीवन, सञ्चारमाध्यम र सार्वजनिक संवादमा निरन्तर प्रयोग गर्नुपर्नेमा जोड दिइन्। नियमित रूपमा मातृभाषामा समाचार, सूचना र विचार प्रवाह हुन सके भाषाको पुस्तान्तरण र प्रयोगलाई निरन्तरता दिन सकिने उनको भनाइ थियो।
मातृभाषामा पत्रकारिता गरिरहेका सञ्चारकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताउँदै मन्त्री गौतमले यस क्षेत्रमा राज्यले गर्नुपर्ने काम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।