फरार प्रतिवादी पक्राउ गर्न उमेश निरौलाको निरन्तर एक्सन, लागूऔषध कारोबारी र अपराधीमा बढ्दै त्रास

फरार प्रतिवादी पक्राउ गर्न उमेश निरौलाको निरन्तर एक्सन, लागूऔषध कारोबारी र अपराधीमा बढ्दै त्रास
मनाेज शाह जितपुर बारा श्रवण १३ गते:

इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी निरीक्षक उमेश निरौलाको नेतृत्वमा अपराध नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। लागूऔषध कारोबार, चोरी तथा तस्करीमा संलग्न व्यक्तिमाथि लगातार कारबाही भइरहेका बेला फरार प्रतिवादीहरू समेत प्रहरीको नियन्त्रणमा पर्न थालेका छन्।
यसैक्रममा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ निवासी ३० वर्षीय कुन्दन गुप्तालाई बुधबार बिहान प्रहरी टोलीले जितपुर सिमरा–२१ अमलेखगञ्जस्थित वडा नं. २१ कार्यालय अगाडिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कुन्दन गुप्ता लागूऔषध (ब्राउन सुगर) सम्बन्धी चालु मुद्दाका फरार प्रतिवादी हुन्। उनीविरुद्ध बारा जिल्ला अदालत, कलैयाबाट पक्राउ पुर्जी जारी भएको थियो। लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय जितपुरले पछिल्लो समय लागूऔषध कारोबार, चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको जनाएको छ। प्रहरीको निरन्तर अभियानपछि अपराधमा संलग्न व्यक्तिहरूमा त्रास बढ्दै गएको स्थानीयको भनाइ छ।
प्रहरीले फरार प्रतिवादीको खोजी तथा अपराध नियन्त्रण अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।