९ वर्षपछि वडा नं. २३ ले पायो आफ्नै सुविधासम्पन्न भवन

९ वर्षपछि वडा नं. २३ ले पायो आफ्नै सुविधासम्पन्न भवन
मनाेज शाह जितपुर बारा असार २ गते:

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ को नवनिर्मित सुविधासम्पन्न वडा कार्यालय भवन सोमबार एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।
स्थानीय तहको निर्वाचनपछि करिब ९ वर्षपछि वडा नं. २३ ले आफ्नै प्रशासनिक भवन प्राप्त गरेको हो। अब वडावासीले आफ्नै भवनबाट सहज, व्यवस्थित र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ।
उपप्रमुख भोला प्रसाद अधिकारीले विगतमा विभिन्न भवनमा आश्रित भएर वडा कार्यालय सञ्चालन गर्नुपरेको स्मरण गर्दै ढिलै भए पनि आफ्नै भवन निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताए। उनले उपमहानगरभित्र हालसम्म १९ वटा वडा कार्यालय भवन उद्घाटन भइसकेको र बाँकी भवन निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।
नगरप्रमुख राजन पौडेलले नागरिकलाई वडा स्तरबाटै प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उल्लेख गरे। उनका अनुसार हाल वडा नं. १२ को कार्यालय मात्रै भाडाको भवनमा सञ्चालन हुँदै आएको छ।
वडाध्यक्ष मुस्ताकिम अन्सारीले पुरानो तथा जीर्ण भवनबाट सेवा प्रवाह गर्दा वर्षायाममा छाना चुहिने समस्यासमेत भोग्नुपरेको स्मरण गर्दै नयाँ भवनसँगै सेवा थप छरितो, व्यवस्थित र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरे।