परदेशको पीडामा मानवताको उज्यालो : बुल्गेरियाबाट स्वर्गीय सुमन अर्यालको परिवारलाई सहयोग

परदेशको पीडामा मानवताको उज्यालो : बुल्गेरियाबाट स्वर्गीय सुमन अर्यालको परिवारलाई सहयोग

मनाेज शाह जितपुर बारा जेठ २९ गते : परदेशको भूमिमा पसिना बगाउँदै जीवनको संघर्ष गरिरहेका नेपालीहरूले फेरि एकपटक मानवताको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। बुल्गेरियाको दोस्रो ठूलो सहर प्लोभडिभमा रोजगारी गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै केही बुल्गेरियन समाजसेवी मनहरू मिलेर स्वर्गीय सुमन अर्यालको परिवारलाई आर्थिक सहयोग गरेका छन्।
कामको सिलसिलामा बुल्गेरिया पुगेका सुमन अर्यालको अचानक हार्ड हेडेक (तीव्र टाउको दुखाइ) का कारण निधन भएपछि उनको परिवार शोकमा डुबेको थियो। श्रीमान् गुमाएको पीडा र परिवारको आर्थिक चिन्ताबीच रहेकी उनकी श्रीमती लक्ष्मी अर्यालको अवस्था बुझ्दै विदेशमा रहेका नेपालीहरू एकजुट बने।
उनीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी लक्ष्मी अर्यालको नाममा रहेको नेपाली प्रभु बैंकको खातामा बुल्गेरियन मुद्रा १ हजार २ सय ७४ लेभ बराबर नेपाली रु. २ लाख २७ हजार २ सय १९ रुपैयाँ पठाएका छन्।
सहयोग अभियानमा सक्रिय रहनुभएका नवराज घिमिरेका अनुसार, लक्ष्मी अर्यालसँग प्रत्यक्ष फोन सम्पर्क गरी परिवारको अवस्था बुझिएपछि सबैले मन खोलेर सहयोग गरेका थिए।
यो सहयोग संकलन अभियानमा दिनेश मगर, सीता थापा, राम श्रेष्ठ, कपिल गौतम, नवराज अधिकारी, दिपेन्द्र चौधरी, युवराज चौलागाईं, विक्रम गुरुङ लगायत बुल्गेरियामा कार्यरत नेपाली युवाहरूको उल्लेखनीय योगदान रहेको छ।
श्रीमती लक्ष्मी अर्यालले भावुक हुँदै भनिन्, “मेरो श्रीमान्को मृत्यु भएपछि परदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले देखाउनुभएको माया र साथ म कहिल्यै बिर्सिन सक्दिनँ। उहाँहरूले मेरो खातामा पठाउनुभएको रकमले हाम्रो परिवारलाई ठूलो सहारा दिएको छ। दुःखको यो घडीमा पाएको साथ जीवनभर सम्झिरहनेछु।”
परदेश केवल रोजगारीको थलो मात्र होइन, दुःखमा आफ्नोपन बाँड्ने नेपाली मनहरूको साझा घर पनि रहेछ भन्ने सन्देश यो घटनाले दिएको छ। कसैको आँसु पुछ्न हजारौँ किलोमिटर टाढाबाट जोडिएका यी हातहरूले प्रमाणित गरेका छन्—नेपाली जहाँ पुगे पनि मानवता कहिल्यै मर्दैन, आफन्तको भावना सीमाना नाघेर पनि जीवित रहन्छ।
“शरीर परदेशमा भए पनि मन मातृभूमिमै धड्किरहन्छ; कसैको पीडामा हात बढाउने यही नेपालीपन नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो।”