उच्च अदालत जनकपुरद्वारा माउन्ट एभरेष्ट मावि सम्बन्धी मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी

उच्च अदालत जनकपुरद्वारा माउन्ट एभरेष्ट मावि सम्बन्धी मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी

मनाेज शाह जितपुर बारा जेठ २७ गते:

उच्च अदालत जनकपुर को एकल इजलासले माउन्ट एभरेष्ट माध्यमिक विद्यालय सम्बन्धी उत्प्रेषण, परमादेश तथा निषेधाज्ञा माग गरिएको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

माननीय न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्याय को इजलासले निवेदन तथा मिसिल कागजात अध्ययन गर्नुका साथै निवेदक पक्षका वरिष्ठ अधिवक्ता दामोदर पौडेल र अधिवक्ता अनुप शेषन पौडेलको बहस सुनेपछि उक्त आदेश जारी गरेको हो।

अदालतले विपक्षीहरूलाई निवेदकको मागअनुसार आदेश किन जारी हुन नपर्ने हो भन्ने सम्बन्धमा प्रमाणसहित लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। आदेशअनुसार म्याद सूचना तामेल भएको मितिदेखि बाटाको म्याद बाहेक १५ दिनभित्र उच्च सरकारी वकील कार्यालय वीरगञ्ज मार्फत लिखित जवाफ पेश गर्नुपर्नेछ।

त्यसैगरी, निवेदकले माग गरेको अन्तरिम आदेशबारे दुवै पक्षको छलफल आवश्यक देखिएकाले अदालतले २०८३ असार ४ गतेका लागि अन्तरिम आदेशसम्बन्धी सुनुवाइ तोकेको छ।

उक्त मितिसम्म विद्यालय सञ्चालन तथा विद्यालयको EMIS प्रणाली खोल्न कुनै अवरोध नगर्न/नगराउन अदालतले उच्च अदालत नियमावली, २०७३ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको जनाएको छ।

अदालतले आदेशको जानकारी तत्काल विपक्षी पक्षलाई गराई नियमानुसार आवश्यक प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएको छ।