२० वर्षदेखि अँध्यारोमा दलित बस्ती, चुनावमा आश्वासन मात्रै

मनाेज शाह जितपुर बारा जेठ ११ गते:


जितपसरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मटिहानीस्थित दलित बस्तीका स्थानीयहरू आधारभूत सुविधाबाट वञ्चित हुँदै आएका छन्। ४२ घरधुरी र करिब ४०० जनसङ्ख्या रहेको उक्त बस्तीमा हालसम्म न खानेपानीको व्यवस्था छ, न त बिजुली नै पुगेको छ।
स्थानीयहरूको गुनासो छ।हरेक चुनावमा नेताहरू भोट माग्न आउँछन्, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यको ठूलो आश्वासन दिन्छन्। तर चुनाव सकिएपछि कोही फर्केर हेर्दैनन्।
स्थानीयका अनुसार जनप्रतिनिधिकै बेवास्ताका कारण आफूहरू २० वर्षदेखि अँध्यारोमा बस्न बाध्य भएका छन्। वर्षौंदेखिको समस्याले बालबालिकाको पढाइदेखि दैनिक जीवनसम्म प्रभावित भएको उनीहरूको भनाइ छ।
यता वडा अध्यक्ष भिम बहादुर लामाले उक्त क्षेत्र वनको जग्गामा परेकाले समस्या समाधानमा कठिनाइ भएको बताएका छन्। उनका अनुसार वन कार्यालयसँग पटक पटक समन्वय गर्दा पनि त्यहाँ बिजुली र खानेपानीको व्यवस्था नगर्नुस भने जवाफ आउने गरेको छ।
विकासका ठूला भाषण भइरहेका बेला मटिहानीको यो दलित बस्ती भने अझै उज्यालो र स्वच्छ पानीको पर्खाइमै छ।