स्पर्श खबर जितपुर बारा जेठ ५ गते:
इमृती नदी पुनःनिर्माणको शिलान्यास, बरवावासीमा खुशी
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २७ बरवास्थित बिजुलपुरदेखि बरवा जोड्ने इमृती नदी पुनःनिर्माण कार्यको आज शिलान्यास गरिएको छ। बारा क्षेत्र नं. ३ की पूर्व प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह र वडा नं. २७ का वडाध्यक्ष अशोक कुमार तिवारी ले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित बजेटमार्फत पूर्वाधार विकास कार्यालय बाराद्वारा करिब १ करोड रुपैयाँ लागतमा नदी पुनःनिर्माण हुन लागेको हो। वर्षौंदेखि जीर्ण अवस्थामा रहेको संरचनाका कारण स्थानीयले भोग्दै आएको आवतजावतको समस्या समाधान हुने विश्वास गरिएको छ।
शिलान्यास कार्यक्रममा पूर्वमन्त्री ज्वाला साहले पुल निर्माण सम्पन्न भएपछि वरिपरिका बस्तीका नागरिकलाई सहज आवतजावत हुने र यसले क्षेत्रीय विकास तथा व्यापारिक गतिविधिमा समेत टेवा पुग्ने बताइन्। स्थानीयवासीले पनि लामो समयदेखि प्रतिक्षामा रहेको योजना सुरु भएपछि खुशी व्यक्त गरेका छन्।