मनाेज शाह जितपुर बारा जेठ ३ गते:
सीमा सरसफाइदेखि लागूऔषधविरुद्ध अभियानसम्म: बारामा सशस्त्र प्रहरीको सक्रियता, स्थानीयबाट प्रशंसा
बारा जिल्लामा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सीमा सुरक्षा र लागूऔषध नियन्त्रणलाई केन्द्रमा राखेर विभिन्न जनहितका कार्यक्रम तीव्र बनाएको छ।

सीमा सुरक्षा गुल्म मटिअर्वा र भारतीय सशस्त्र सीमा बल (SSB) का सुरक्षाकर्मीहरूको संयुक्त सहभागितामा दशगज्जा क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ।
मटिअर्वा क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा सीमा आसपासका सडक तथा सार्वजनिक स्थल सफा पारिएको थियो। यसले सीमा क्षेत्र स्वच्छ राख्नुका साथै नेपाल–भारत सुरक्षा निकायबीचको समन्वय, सहकार्य र मित्रवत सम्बन्धलाई थप मजबुत बनाएको बताइएको छ। कार्यक्रममा दुवै देशका सुरक्षाकर्मी तथा अधिकृतहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यससँगै सशस्त्र प्रहरीले जिल्लाभर लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक अभियानलाई पनि व्यापक बनाएको छ। विभिन्न सीमा सुरक्षा गुल्म र बिओपीमार्फत विद्यालय तथा समुदायमा पुगेर विद्यार्थी र स्थानीयलाई लागूऔषधको दुरुपयोग, यसको सामाजिक असर तथा नियन्त्रणका उपायबारे जानकारी दिइएको छ।
पिपरपाती, मटिअर्वा, कब्हिगोठ, बेनौली, बरेनिया, गोलागंज र बेल्दारी लगायत स्थानका विद्यालयहरूमा सयौं विद्यार्थीबीच सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ। साथै मटिअर्वा क्षेत्रमा माइकिङमार्फत लागूऔषध दुर्व्यसनविरुद्ध सन्देश फैलाइएको छ।

बारा जिल्लामा सशस्त्र प्रहरी प्रमुख विशाल सिलवाल को नेतृत्वमा सञ्चालन भइरहेको अभियानलाई स्थानीयवासीले उदाहरणीय कार्यको रूपमा लिएका छन्। नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (ख) का सभापति लोकेश सिंह ले सशस्त्र प्रहरीले समाज सुधार र जनचेतनाका क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको बताएका छन्।
स्थानीयका अनुसार सीमा सुरक्षा मात्र होइन, सामाजिक सचेतनामा समेत सशस्त्र प्रहरीको यस्तो सक्रियता बारामा सकारात्मक सन्देश फैलाउन सफल भएको छ।