भुक्तानी नपाएर ठेकेदार पीडित, स्टार होटलमा बैठक:जितपुरसिमरामा जनप्रतिनिधिमाथि प्रश्नैप्रश्न

भुक्तानी नपाएर ठेकेदार पीडित, स्टार होटलमा बैठक—जितपुरसिमरामा जनप्रतिनिधिमाथि प्रश्नैप्रश्न

स्पर्श खबर जितपुर बारा बैशाख १८ गते:
जितपुर सिम्रा उपमहानगरपालिका भित्र विकास निर्माणका काम गरेका ठेकेदारहरू भुक्तानी नपाउँदा गम्भीर आर्थिक समस्यामा परेको गुनासो बढ्दै गएको छ। स्थानीय राजकुमार लामाका अनुसार काम सम्पन्न भएर पनि रकम नपाउँदा ठेकेदारहरू ऋणको भारमा थिचिएका छन्।
यता उपमहानगरपालिकाले शिक्षकहरूको बैठक टिटवान्टी होटलमा राख्ने सूचना सार्वजनिक गरेपछि थप विवाद सिर्जना भएको छ। नेपाल सरकारले सरकारी कामकाज सार्वजनिक स्थान वा सरकारी संरचनामै गर्नुपर्ने निर्णय गरिसकेको अवस्थामा उपमहानगरपालिकाले स्टार होटल रोज्नु नियमविपरीत भएको भन्दै आलोचना भइरहेको छ।
यस विषयमा स्थानीय अगुवा, समाजसेवी तथा विभिन्न संघसंस्थाहरूले खुलेर विरोध जनाएका छन्। तर, मेयर राजन पौडेल, उपप्रमुख तथा वडा अध्यक्षहरू यसप्रति बेवास्ता गरेको आरोप लागिरहेको छ।
उपमहानगरपालिका भित्र कतै विकासका नाममा गुणस्तरहीन काम, कतै ढिलासुस्ती र कतै अनियमितता भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। बारम्बार गुनासो उठ्दा पनि जनप्रतिनिधिबाट चासो नदेखिँदा जनताको भरोसा क्रमशः घट्दै गएको देखिन्छ।
जनप्रतिनिधि एकातिर र जनता अर्कोतिर उभिएको जस्तो अवस्था सिर्जना हुँदा जितपुर सिम्रामा विकास होइन, विवाद र असन्तुष्टि बढ्दै गएको छ।