स्पर्श खबर जितपुर बारा कार्तिक २० गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले वडाभित्रका केही जेन्जी (Gen Z) पुस्ताका भाइबहिनीहरूसँग भेटघाट गर्दै खेलकुद तथा राजनीतिक विषयमा अन्तरक्रिया गर्नुभएको छ।
वडाध्यक्ष खरेलका अनुसार सो भेटघाटको उद्देश्य नयाँ पुस्ताको सोच, ऊर्जा र दृष्टिकोणलाई स्थानीय नेतृत्वमा समावेश गर्दै खेलकुद र सामाजिक गतिविधिलाई सशक्त बनाउन रहेको छ। उहाँले युवाहरूसँग स्थानीय विकास, खेलकुद प्रवर्द्धन र राजनीतिक सचेतनाबारे खुला छलफल गर्नुभयो।
छलफलमा सहभागी युवाहरूले खेल मैदान, युवा कार्यक्रम र रोजगारमूलक तालिमका माग पनि राखेका थिए। वडाध्यक्ष खरेलले युवाको सुझाव र मागलाई आगामी योजना र बजेटमा प्राथमिकताका साथ समेटिने प्रतिबद्धता जनाउनुभयो।
यो भेटघाटले वडास्तरमा युवा सहभागिता र सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।


