भारत–नेपाल सीमामा नेपाली नागरिकलाई सास्ती, पचरौतामा भूमि विवाद तीव्र
सिकिन्द्र साह बारा कार्तिक १५ गते:
बारा जिल्लाको पचरौता नगरपालिका–४ गुलरिया नजिक नेपाल–भारत सीमाको दस गजामा बसोबास गर्दै आएका नेपाली नागरिकहरूले भारतीय पक्षबाट निरन्तर सास्ती भोग्दै आएको गुनासो गरेका छन्।
स्थानीय वाल्मीकि प्रसाद यादवका अनुसार, तीन पुस्तादेखि जोतभोग गर्दै आएको पुर्खौली जग्गा भारतको ग्राम जोलगाव निवासी ललितेश्वर यादव, ग्राम बडेला निवासी हरिशंकर यादव, मङ्नी राय यादव, चन्दन कुमार, रामप्रवेश यादव र शम्भु यादवलगायतको समूहले कब्जा गर्ने प्रयास गर्दै आएको छ। करिब दुई वर्षदेखि सो समूहले बलजफ्ती जग्गामा प्रवेश गर्न खोजिरहेको र प्रतिरोध गर्दा “ज्यान मार्ने धम्की” समेत दिएको आरोप उनले लगाए।
वाल्मीकि यादवका बुवा राजदेव प्रसाद यादवका भनाइमा, “हामीकहाँ जोतभोगको पुरानो प्रमाण छ। नेपाल र भारत दुवै देशका सम्बन्धित प्रशासनले पनि हाम्रो अधिकारलाई मान्यता दिएका छन्। तर भारतीय भूमाफियाहरू बेला–बेलामा कब्जा गर्ने प्रयास गर्छन्,” उनले भने।
पीडित पक्षले यसअघि नै पचरौता नगरपालिकाको बेल्दारी प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीमा पटक–पटक उजुरी दिएको भए पनि हालसम्म ठोस कारबाही नभएको गुनासो छ। प्रहरीले आश्वासन मात्र दिएको र वास्तविक समाधान नआएको उनीहरूको दाबी छ।
यादव परिवारले सम्बन्धित निकायहरूलाई तत्काल हस्तक्षेप गरी आफ्नो पुर्खौली सम्पत्तिमा कब्जा रोक्न र सुरक्षाको प्रत्याभूति दिन माग गरेका छन्।


