कलैया अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा अन्सारी

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामले प्रादेशिक अस्पताल कलैयाको अस्पताल सञ्चालन समिति तथा व्यवस्थापन समितिको अध्यक्षमा जवाहिर अन्सारीलाई मनोनित गरेको छ।

कलैया उपमहानगरपालिका –०८ निवासी अन्सारीलाई अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा (१) (क) बमोजिम अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरिएको हो।

मन्त्रालयको असोज २१ गते मन्त्रिस्तरको निर्णय अनुसार प्रादेशिक अस्पताल, कलैया बाराको अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरिएको छ। पद अनुसारको कर्तव्य पालना तथा आचरण प्रकट हुने अपेक्षा महाशाखा प्रमुख डा. विपिन कुमार झाद्वारा जारी मनोनयन पत्रमा उल्लेख गरिएको छ । मनोनयन पत्रको बोधार्थ श्री प्रादेशिक अस्पताल, कलैयामा पठाइएको छ।

यस अघि प्रादेशिक अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष प्रकाश चौगाई थिए। उनको कार्यकाल समाप्त भएपछि अध्यक्षमा अन्सारी मनोनित भएका हुन् । अन्सारी नेकपा एमाले पार्टी बाराका उप–सचिव समेत हुन्।