डेङ्गी नियन्त्रणमा काठमाडौँ महानगरपालिकाको बहुसाझेदार कार्यक्रम प्रभावकारी

डेङ्गी नियन्त्रणमा काठमाडौँ महानगरपालिकाको बहुसाझेदार कार्यक्रम प्रभावकारी

बर्षा याममा महामारीका रुपमा फैलिने डेङ्गी महामारी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले अघि सारेको बहुसाझेदार कार्यक्रमले सकारात्मक नतिजा देखाएको छ । महानगरपालिका क्षेत्रभित्रको तथ्याङ्क हेर्दा अहिले डेङ्गी संक्रमणको दर घटेको देखिएको छ । २०८० सालको असारदेखि २०८१ सालको साउन मसान्तसम्म महानगरपालिकाभित्र ३ हजार ५८६ जनामा डेङ्गी संक्रमण भएको थियो । यो संख्या गएको बर्ष (२०८१ साउनदेखि २०८२ असारसम्म) बढेर ५ हजार ६३७ पुगेको थियो । यस वर्ष गएको साउनदेखि अहिलेसम्म ३४९ जनामा यो संक्रमण देखिएको छ । मध्य बर्खाको समयमा ३५० जनाभित्र संक्रमण भएका व्यक्तिको संख्या सीमित हुनु नियमित कार्यक्रमको नतिजा हो ।

यसका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयमसेवक, टोल विकास संस्था, स्थानीय तथा सामाजिक संघसंस्था, क्लव र नागरिक स्तर प्रतिनिधिहरु महानगरपालिकाको डेङ्गी नियन्त्रण अभियानमा सँगै हुनुहुन्छ । उहाँहरु लामखुट्टेको बासस्थान नष्ट गर्नु अभियानमा सदैब क्रियाशील हुनुहुन्छ । यो अभियान निरन्तर चलिरहेको छ । यसअन्तर्गत महानगरपालिकाको केन्द्रीय कार्यालयसँगै सार्वजनिक सेवा प्रदायक कार्यालय, वडा र समुदाय स्तरमा लार्भा तथा लार्भा उत्पादन हुन सक्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानको मुख्य भूमिका छ । अभियानको अर्को पक्ष र्‍यापिड रेस्पोन्स टीम (आरआरटी) गठन पनि हो । यो टीमले विरामीको उपचारमा सहजीकरण गर्ने, समस्या समाधानका लागि परामर्श दिने, रोग पहिचान गर्ने लगायत काम गरिरहेको छ ।

माइकिङ् गर्ने, विद्यालयका विद्यार्थीलाई जोखिमका बारेमा थाहा दिने, टोल, समुदाय र घर दैलो कार्यक्रममार्फत हरेक नागरिक समक्ष पुग्ने र उहाँहरुलाई डेङ्गी नियन्त्रण अभियानमा सहभागी हुन प्रोत्साहित गरिरहेका छौँ ।

वातावरण व्यवस्थापन विभागले सरसफाइ र स्वच्छताका कार्यक्रमलाई थप प्रभावकारी बनाउने, स्वास्थ्य विभागले स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत निदानात्मक र उपचारात्मक सेवामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) सेवा दिने, जीवन जल, सिटामोल जस्ता औषधि उपलब्ध गराउने, चौबिसै घण्टा टेलिफोनबाट परामर्श दिने, नगर प्रहरी बलले लार्भिसाइड छर्किने काम गरिरहेका छन् । यस्तै बिरामीहरूलाई आवश्यक पर्ने रगत र रक्त तत्वका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरेर निःशुल्क उपलब्ध गराउने गरिएको छ । यससँगै अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।

हामी चनाखो छौँ । नागरिक स्वास्थ्य सुरक्षाको उत्तरदायित्वप्रति जिम्मेवार छौँ । र, नियमित काम गरिरहेका छौँ । यति हुँदाहुँदै पनि महामारी नियन्त्रण हाम्रो मात्र प्रयासले सम्भव छैन । यसका लागि हरेक व्यक्तिले आफ्नो बासस्थान र परिसरमा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्न आवश्यक छ । विरामीको सहज उपचार सेवाका लागि प्रदेश र संघ सरकारको सहकार्य आवश्यक छ । यसका लागि हामी प्रयासरत छौँ । र, सहकार्यमा काम गरिरहेका छौँ ।

यसर्थ, अहिलेसम्म नियन्त्रणमा रहेको डेङ्गीको जोखिम बढ्न नदिन हरेक व्यक्ति र समुदायसँग सहकार्यका लागि अनुरोध गर्दछौँ ।

मेयर बालेन शाहको फेसबुकबाट।