गोकुल घोरसाइने निजगढ बारा भदौ १२ गते
पूर्वपश्चिम राजमार्गको कमला– पथलैया खडकखण्ड विस्तार आयोजनाअन्तर्गत सडक विभागले निजगढको बकैया खोलामा नयाँ पुल निर्माण गर्नेभएको छ ।
आयोजनाअन्तर्गत सर्लाहीको बागमतीदेखि पथलैयासम्मको सडक विस्तारको काम शुरु नहुँदै सडक विभागले बकैयामा भने पुल निर्माणको प्रक्रिया अघि बढाएको हो ।
पुल निर्माणको ठेक्का लागिसेकेको र सोको प्राविधिक मूल्याङ्कन सकिएपछि ठेकेदार कम्पनीको टुङ्गो लगाइने सडक विभागका सिनियर डिभिजनल इन्जिनियर मुकुन्द अधिकारीले बताउनुभयो । ‘बकैया पुल निर्माण गर्न १२ वटा कम्पनीले ठेक्का हालेका छन, अधिकारीले भन्नुभयो, कार्यालयले ठेकेदार कम्पनीको प्रस्तावमा मूल्याङ्कन गरिरहेको छ ।’ अध्ययनको काम टुङ्ग्एिसिछ १ महीनाभित्र निर्माण कम्पनी छनौंट हुने उहाँले बताउनुभयो ।
विश्व बैङ्कको ऋण सहयोगमा धनुषाको कमला नदीदेखि बाराको पथलैयासम्म १३० किलोमिटर सडक चार र छ लेनमा विस्तार गर्न लागिएको हो । हाल दुई लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गरिने योजना छ ।
यस खण्डको सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गत वर्ष पुस १७ गतेदेखि सडक विस्तारको काम भइरहेको छ । रौतहट र बारा जिल्लाको सडक विस्तारको लागि भने ठेक्का आह्वान हुन बाँकी नै रहेको आयोजना कार्यालयले जनाएको छ ।
सडकको दायाँबायाँका रुख व्यवस्थापनका लागि स्वीकृति आएको भनिए पनि रुख कटानको काम पनि अगाडि बढ्न सकेको छैन ।
वन तथा भू–संरक्षण विभागले गएको असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजना बमोजिम ३१ हजार ५२९ वटा रुख हटाउन महोत्तरीको गौरीडाँडास्थित कमला–ढल्केबर–पथलैया सडक आयोजनालाई पत्राचार गरेको छ ।