स्पर्श खबर जितपुुर बारा साउन २१ गते:
आईजीपी थापाको प्रमुख आतिथ्यतामा पुलिस हेल्थ क्लबमा रक्तदान कार्यक्रम
नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाडौंको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, संघका महासचिव श्रीमती अनुश्री पाख्रीन, उपाध्यक्षहरु, सल्लाहकारहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृतहरु काठमाडौं उपत्यका स्थित विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष रुपा थापाले रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई हृदयगमन गरी नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा ७ वटै प्रदेश कार्यालयहरुमा एकै साथ रक्तदान कार्यक्रम आयोजना गरिएको र यस रक्तदान कार्यक्रमबाट रगतको अभावमा छटपटिएका बिरामीहरुलाई मृत्युवरण हुनबाट जोगिन थप टेवा पुग्ने कुरा बताउदै रक्तदान जस्तो पुण्य कर्ममा जोडिने रक्तदाताहरुलाई धन्यवाद समेत प्रदान गर्नु भयो ।