हाम्रो घर बन्न नदिन केही मान्छेहरुले सडयन्त्र गर्दैछ : दलित समुदाय

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा दलित समुदायको लागि निर्माणाधीन पक्की घरमा अवरोध सिर्जना गर्ने नियोजित सड्यन्त्र भइरहेको भन्दै दलित समुदायले गम्भीर आपत्ति जनाएका छन ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा दलित हकहित अधिकार मञ्चका अध्यक्ष राजकुमार पासवानले निर्माणाधीन घरप्रति केही व्यक्तिहरु असहज बनेको र त्यसैले विकासका काममा अवरोध गरिरहेको आरोप लगाए ।

‘पक्की घर बन्यो भने कसैको पेट दुख्यो’
पासवानले भने,‘झुपडीमा जीवन बिताएका हामी जस्ता दलित समुदायले जब सम्मानजनक घर पाउन थाल्यौं, तब कसैको पेट दुख्यो। विकासको काम बिगार्ने प्रयास गम्भीर सड्यन्त्र हो, यसको पर्दाफास हुनुपर्छ ।’

उनले यो विकासमाथिको आक्रमण मात्र नभई दलित समुदायमाथिको अपमान र सामाजिक न्यायमा ठाडो प्रहार भएको बताए।

समुदायमा खुशी, केहीले चित्त दुखाए
विगतका वर्षमा खरको झुपडीमा बस्दै आएका टोल चौकीदार बुधन माझीले पक्की घर बन्न थालेपछि खुसी लागेको बताए। उनले भने,‘झुपडीमा पस्दा पानी चुहिन्थ्यो, अहिले ढलान भएको घर देख्दा आँखा रसाउँछ ।’ तर उनले दुःखेसो गरे–‘हाम्रो खुसी हेर्न नसक्नेहरू घरमा अवरोध गर्न खोज्दैछन ।’

सुरेश माझी प्रयोगमा परेको गुनासो
पछिल्लो समय भाइरल बनेका सुरेश माझीले आफूलाई बिना जानकारी मिडियामा प्रस्तुत गरिएको भिडियोमा ईँटा फुटाउन लगाइएको दाबी गरे। ‘मलाई प्रयोग गरियो, सहमति लिइएन,’ उनले भने, ‘यसले हाम्रो समुदायलाई बदनाम गर्न खोजिएको छ।’

कमजोरी हो भने सुधारौं, तर काम भत्काउने मनसायको विरोध
टोल विकास समितिका अध्यक्ष बृजकिशोर महत्तोले घर निर्माणमा केही प्राविधिक त्रुटि भए पनि त्यसलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए। ‘काम रोक्ने या भत्काउने कार्यप्रति हाम्रो स्पष्ट विरोध छ,’ उनले भने।

एमाले प्रतिनिधिमाथि आक्रोशपूर्ण हमलाः खरेल
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष हरिदेव खरेलले नेकपा (एमाले) नेतृत्वका जनप्रतिनिधिहरुले अगाडि बढाएको विकास कार्यप्रति नियोजित रूपमा असहिष्णुता देखाइएको बताए। ‘दलित बस्तीमा विकास भइरहेको छ भने केही व्यक्तिहरू त्यसलाई विघ्न र्पुयाउन खोजिरहेका छन’ खरेलले भने,‘यस्ता गतिविधि सह्य हुँदैनन्, दोषी पत्ता लगाइन्छ।’

आशामा चोटः दलित बस्तीमा अन्योल
घटनाले दलित समुदायमा गहिरो चोट र्पुयाएको भन्दै स्थानीयस्तरमा बहस चर्किएको छ। अधिकारकर्मीहरूले स्थानीय सरकारले सड्यन्त्रकारी प्रयासको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन।

मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत निर्माणाधीन २० घर
‘विपन्नसँग मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत जीतपुरसिमरा-१६ मा दलित तथा विपन्न वर्गका लागि २० वटा पक्की घर निर्माण भइरहेका छन । खोला छेउका झुपडीमा जीवन बिताउँदै आएका माझी, पासवानलगायतका परिवार नयाँ घरमा बस्न पाउने आशाले उत्साहित छन।

तर विकासले गति लिन नपाउँदै सुरु भएको सड्यन्त्रले घरधुरीको सपना अधुरो नबनोः भन्ने चिन्ता अहिले समुदायका सबैको साझा बनेको छ।