स्पर्श खबर जितपुर बारा असार १७ गते:
भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका ४ सिर्जना टोलका १३ जना बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरूले कुखुराको मासु, पुलाउ र राजमा खाएकोमा कुखुराको मासु खानेहरु बिरामी परेको जानकारी प्राप्त भएको वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोका क्षेत्रीले बताए ।
भारतीय सीमा क्षेत्र नजिकबाट ल्याएको कुखुराको मासु खाँदा १३ जना बिरामी परेको जनाइएको वडा अध्यक्ष रोका क्षेत्रीले बताए । खजुरा ४ एफ गाउँमा आफन्तको घरमा भात खुवाई कार्यक्रममा सहभागी भई घर आएका उनीहरु बिरामी परेका हुन् । एकै परिवारका ७ जनासहित १३ जना बिरामी परेको खजुरा ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीले बताए ।
बिरामी हुनेमा बालबालिका पनि रहेको बताउँदै जैसीले उनीहरूमा झाडापखाला, उल्टी, ज्वरो आउने, रिँगटा लाग्ने समस्या देखिएको बताए । उनले पुलाउ, तरकारी, अचार खाएकाहरुलाई केही नभएको र कुखुराको मासु खानेहरु बिरामी परेको जनाए ।
भात खुवाईमा गएका ६ जना र घरको लागि पोको बनाएर ल्याएको खाना खाएर अरु थप ७ जना बिरामी परेको बताउँदै सो अवसरमा सहभागी भएका अन्य अरु थप सामान्य बिरामी भएको र उपचारपछि निको भएर घर गइसकेको खजुरा ४ आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज जैसीले बताए ।
सम्बन्धित समाचार
निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
बिरामीहरुको उपचार बाँके सिटी अस्पताल खजुरामा भइरहेको खजुरा गाउँपालिकाले जनाएको छ । खानाको कारण बिरामी परेका बिरामीलाई भेट्न अस्पताल पुगेका खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले घटनाबारे आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायमा अनुरोध गरे ।
बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खजुरा गाउँपालिकाका अध्यक्षसँगै उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोकाक्षेत्री, वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्णकुमारी पोखरेल, वडा सदस्य रितु गिरी, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओली लगायतको टोली अस्पताल पुगेको थियो ।
कुखुराको मासु खाएर बिरामी हुनेहरुमा वडा ४ का रामबहादुर बिष्ट, मिना बुढा कुमारी मगर, रियान बिष्ट, आयुषा बिष्ट, हिमराज बिष्ट, मनोज बिष्ट, सीता बुधाछेत्री, लीलावती बिष्ट, खुसी बिष्ट लगायत रहेका छन् ।सभार खाेज खबर ।


