“बजेट तथा योजना लिन तछाडमछाड गर्ने तर ज्यान बचाउने कार्यक्रममा भने नगण्य उपस्थिति देखियो”: पूर्व मन्त्री किसान श्रेष्ठ

oplus_0

स्पर्श खबर जितपुर बारा जेठ ८ गते : जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा बुधबारदेखि सडक सुरक्षा तथा ट्राफिक सप्ताह–२०८२ को औपचारिक गरिएको छ ।

उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा मनाईने सडक सुरक्षा तथा ट्राफिक सप्ताहको औपचारिक रुपमा उद्घाटन उक्त अभियानको पूर्व मन्त्री तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले उद्घटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले ट्राफिक नियमको पालना सबैका लागि अनिवार्य रहेको उल्लेख गर्दै नियम उल्लंघनलाई छुट दिने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको बताए। “यदि जनप्रतिनिधि,नेता वा कर्मचारीबाट सिफारिसको अन्त्य भयो भने ट्राफिक दुर्घटना उल्लेख्य रूपमा घट्नेछ,” उनले भने। त्यस्तै,जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले व्यवसायिक फर्महरूलाई आफ्नै पार्किङ्गको व्यवस्था गर्न सुझाव दिनुभयो।

निजी जग्गामा पनि पार्किङ्गको व्यवस्था गरी शुल्क लिन सकिने बताउँदै,अपर्याप्त जग्गाको समस्या रहेका स्थानमा उपमहानगरसँग समन्वय गरेर यो कार्य अघि बढाउनुपर्ने धारणा राख्नुभयो। साथै व्यवसायिक संस्थाहरूले भवन भाडामा लिँदा पार्किङ्ग सुविधा हेरेर मात्र निर्णय गर्नुपर्ने आग्रह पनि गर्नुभयो।

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्तिले समाजमा नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो। “सडक पेटीमा सामान राख्ने बानी हटाउनुपर्छ। अरुले मात्र हटाएपछि आफू हटाउने सोच गलत मानसिकता हो,” अधिकारीले भने। उहाँले अब सात दिनपछि सम्झाइने होइन, सिधै कारबाही अघि बढाइने चेतावनी दिनुभयो।

साथै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन यहाँ क्रियाशील संघसंस्थाहरूले स्वयमसेवकका रूपमा काम गर्नुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीले दिनुभयो। ट्राफिक नियम उल्लघन गर्ने बिकृतीलाई सँस्कृति बन्न नदिनुतर्फ सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै नेपाल राजमार्ग तथा ट्राफिक ब्यवस्थापन कार्यालयका पथलैयाका प्रमुख राजकुमार सिलवालले देशमै ट्राफिक दुर्घटनाको स्थित बिकराल रहेको बताए । हरेक दिन सरदरमा आँठ जनाले ज्यान गुमाउँने गरेको जानकारी दिए ।

हरेक दिन कहिँबाट दुर्घटनाको सुचना सुन्न नपरोस भन्दै भगवानसँग आफुले प्रार्थना गर्ने गरेको ट्राफिक प्रहरी उपरिक्षक सिलवालले सुनाए । कार्यक्रम अन्तर्गत सात दिनसम्म जनचेतनामूलक अभियान,ट्राफिक शिक्षा तथा सडक सुरक्षा प्रवद्र्धनका विविध गतिविधिहरू सञ्चालन हुनेछन्। ।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नं.४(क)का प्रदेश सभा सदस्य देवनारायण चौधरी,परवानीपुर गाउँपालिकाको अध्यक्ष राम क्षेत्री कुर्मी,बारा प्रहरी उपरिक्षक संतोष तमाङ्ग,सड्क डिभिजन कार्यालय हेटौडाका सिनियर डिभिजनल अधिकृत गुरु प्रसाद अधिकारी,डिभिजन बन कार्यालय बाराका प्रमुख राजीव कुमार झा,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,महासचिव प्रकाश गिरी लगायतको सहभागिता रहेको थियो ।