बारम्बार विद्युत कटौतीले बारा-पर्सा औद्योगिक करिडोर अस्तव्यस्त

बारा– पूर्वनिर्धारित तालिकाबिना दैनिक १० घण्टासम्म विद्युत कटौतीको मार खेपिरहेका पथलैया–वीरगञ्ज औद्योगिम करिडोरका उद्योगहरु गत सातायता भएको बारम्बार विद्युत कटौतीले अस्तव्यस्त बनेका छन् ।

बारम्बार अवरुद्ध हुने विद्युतका कारण उत्पादनमा प्रत्यक्ष प्रभाव पर्नेमात्र नभई उद्योगका उपकरण बिग्रिने र कच्चा पदार्थको करोडौं क्षति हुने उद्योग सञ्चालकहरु बताउँछन् । विद्युतकै कारण उद्योग सञ्चालनमा अन्योल सिर्जना भएपछि बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरु मारमा परेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले एक सातायता विद्युत आपूर्ति बारम्बार अवरूद्ध हुँदा उद्योगीमा अन्योल बढेको बताए । उनले भने, ‘कुन बेला विद्युत आउने कुन बेला जाने टुंगो छैन, कसरी उद्योगको प्लान्ट सञ्चालन गर्ने ? पूरै करिडोरको औद्योेगिक वातावरण समस्याग्रस्त बनेको छ । विद्युत प्राधिकरणले जति समय बिजुली उपलब्ध गराउने हो, त्यति समय तोकिदियोस् । त्यही समयमा क्वालिटीको विद्युत उपलब्ध गराओस् । नत्र यही अवस्थामा उद्योग सञ्चालन गर्न कठिनाइ हुन्छ ।’

बारम्बार भइरहेको विद्युत आपूर्ति अवरूद्धले उद्योगको उत्पादन प्रणाली नै लथालिंग बनाएको उद्योगीहरु बताउँछन् । कच्चा पदार्थदेखि विभिन्न उपकरणमा क्षति पुग्न थालेपछि धान्न नसकिने भन्दै साना तथा मझौला उद्योगहरुले सञ्चालन समय घटाएका छन् । क्षति बढेसँगै कतिपय ठूला उद्योगले पनि उत्पादन समय निकै घटाएका छन् । करिडोरमा विद्युत वितरण प्रणाली असाध्यै कमजोर बनेपछि उद्योगीमा हैरानी बढेको र औद्योगिक वातारण बिथोलिएको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । ‘प्राधिकरणमा नयाँ एमडी आएपछि हामीले लोड म्यानेजमेन्टमा सुधार हुने अपेक्षा राखेका थियौं, तर त्यसो हुन सकिरहेकोे छैन,’ उपाध्यक्ष राजपालले भने, ‘अहिले करिडोरमा चारदेखि दश घण्टासम्म मनलाग्दी विद्युत काट्ने गरेको छ । विद्युत डिमान्डको समय यही हो तर यही समयमा विद्युत नहुनु देशकै लागि घाटा हो ।’

करिडोरका उद्योगहरुले वार्षिक करिब चार अर्ब ५० करोड विद्युत महशुल बुझाउने गरेका छन् । प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुपेश रुपाखेतीले करिडोरका उद्योगमा दैनिक १ सय ५० मेगावाटसम्म विद्युत खपत हुने गरेको जानकारी दिँदै अहिले पिक आवरमा विद्युत वितरण गर्न नसकिए पनि समय मिलाएर दिने गरेको बताए ।

विद्युत पटक–पटक अवरुद्ध बन्न थालेपछि करिडोरको क्षेत्रका शहरमा सञ्चालित पाँच तारेदेखि पर्यटक स्तरसम्मका होटल पनि पीडित बनेका छन् । क्लासिक होटल सिमराका प्रबन्धक राज भट्टले विद्युत बारम्बार अवरुद्ध बन्ने गरेपछि गत महिनादेखि जेनेरेटर सञ्चालनमा ल्याएको बताए । यसमा मासिक ३ लाख ५० हजारको डिजेल खपत हुने उनले जानकारी दिए । प्राधिकरणले भारतबाट आयात गरिएको बिजुलीले वितरणमा सुधार भएको दाबी गरे पनि साना–ठूला गरी हजारभन्दा धेरै उद्योग सञ्चालित करिडोरका उद्योगीहरूले भने दैनिक दश घण्टासम्म अघोषित लोडसेडिङको मार खेप्नुपरेको बताएका छन् ।सभार कराेबार । अनियमित विद्युत कटौतीको बारेमा प्राधिकरणले चासो नराखेको भन्दै उद्योगीहरुले असन्तोष प्रकट गर्न थालेका छन् ।