जेठ १५ गते हाई अलर्टमा रहन आईजीपी थापाको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधान विरोधी तत्त्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन् । आइतबार नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट (उच्च सतर्क) रहन निर्देशन दिएका हुन् ।

साथै प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै थापाले त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहनसमेत निर्देशन दिए । थापाले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’

पछिल्लो समय प्रहरी कर्मचारीबीच नै कुटपिटको घटना सार्वजनिक भइरहेको विषयमा उनले ड्युटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्नेजस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने बताए ।

‘त्यसमाथि पनि पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो’, आईजीपी थापाले भने ।

काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत प्रहरी कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।सभार राजधानी दैनिक ।