स्पर्श खबर जितपुर बैशाख ५ गते:
बारा प्रहरीले तीन छुट्टा छुट्टै स्थानबाट तीन सय ६७ किलो एक सय ४० ग्राम लागु औषध गाँजा बरामद गरेको छ।
गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।
प्रहरीले नौ पोकामा रहेको तीन सय पाँच किलो लागु औषध सहित तीन जनालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा बिहीबार राति ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.३ बजनी स्थित हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी प्रहरीले जाँच गरेको हो।
लागू औषध गाँजा वरामद गरी ट्रक सहित ओसार पसार कार्यमा संलग्न रहेका तीन जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले ट्रक चालक जिल्ला मकवानपुर कैलास गाउँपालिका ०४ बस्ने वर्ष अन्दाजी ३२ वर्षीय राजन लामा,ट्रकमा सवार जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका ३ बस्ने वर्ष ३३ वर्षीय ईश्वर लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गाँजा ओसार पसारमा संलग्न जिल्ला मकवानपुर कैलास गाउँपालिका १० बस्ने वर्ष २७ वर्षीय जीवन ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.४ खुटवा बस्ने अं.वर्ष ३१ को पवन कुमार साहलाई नियन्त्रणमा लिएको छ।
साहले आफ्नै घरमा विक्री वितरण गर्ने गरेको र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम वरामद गरेको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले बारा पचरौता नगरपालिका वडा नं. १ मुसहरीटोल स्थित मकै बारीमा एक जनालाई लागु औषध गाँजा सहित पक्राउ गरेको छ।
गाँजालाई टाउकोमा बोकी नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा चार पोकामा रहेको ६० किलो लागु औषध गाँजा सहित एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने अ.बर्ष २५ को राजबिहारी कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरुमाथि आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


