सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति
रासस

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ ।

महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिमा महासङ्घका छ जना सचिव सदस्य रहेका छन् । समितिमा सचिवहरु रमेश खतिवडा,प्रकाश धौलाकोटी,सोनी शर्मा,अशोक तिवारी,वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहनुभएको महासङ्घले जनाएको छ ।

समितिले आजै आक्रमण गरिएका सञ्चारगृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले राससलाई जानकारी दिनुभयो । समितिले घटनाका पीडित,प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ ।

समितिले घटना के,कसरी भयो ?,अब महासङ्घ कसरी अघि बढ्ने ? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ ।

पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए ।

प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए ।