नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा

नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा सम्पन्न
मनाेज शाह जितपुर बारा चैत १६ गते : नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा शनिवार सिमरामा सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका निर्माण व्यवसायीहरुको छाता संगठनका रुपमा दुई बर्ष अघि स्थापना भएको नगर निर्माण व्यवसायी संघको दोश्रो साधारण सभाका अवसरमा शनिवार सिमरा विजनेश सेन्टरमा कार्यालय समेत सञ्चालनमा ल्याईएको छ ।
बारा क्षेत्र नम्बर ४(१) बाट निर्वाचित मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले शनिवार विहान संघको कार्यालय भवन उद्घाटन गर्नुभएको थियो ।
प्रदेश सभा सदस्य चौधरीकै प्रमुख आतिथ्यतामा सिमराको होटल श्रेष्ठ रेसीडेन्सीमा सम्पन्न साधारण सभाले आर्थिक तथा संगठनात्मक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा संघका अध्यक्ष दिपककुमार ठाकुरले संगठनात्मक तथा कोषाध्यक्ष रामकुमार अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौधरीले निर्माण व्यवसायीको समस्यालाई आफुले नजिकबाट बुझेको र भुक्तानी लगायतमा भोग्नुपर्ने समस्या समाधानका लागि आफूले सम्बन्धित ठाउँहरुमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम मा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिकाको विकास निर्माणमा यहाँका निर्माण व्यवसायीको अतुलनीय योगदान रहेको उल्लेख गर्दै उपमहानगरको प्रशासनिक समस्याका कारण समस्यामा परेका व्यवसायीको हकमा आफुले उपल्लो तहमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले निर्माण व्यवसायीले झेलीरहेका समस्याका विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा राधाकृष्ण मध्यवर्ती सामुदायिक बन समितिका उपाध्यक्ष युवराज न्यौपाने, एलाईट आरएमसीका सञ्चालक शेखर भण्डारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
नगर निर्माण व्यवसायी संघका अध्यक्ष दिपककुमार ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा, चेम्बर अफ कमर्स जीतपुरसिमराका अध्यक्ष मनलाल श्रेष्ठ, निर्माण व्यवसायी संघ बाराका सहसचिब सतिश पटेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवं निर्माण व्यवसायीहरुको उपस्थिती रहेको थियो ।