Highlights
- पहिचान खुले पनि लामो समयदेखि सम्पर्कविहीन रहेको वा जिम्मेवारी पूरा नगरेको बाबुको नाम सन्तानले नागरिकतामा लेखाउन नचाहे पाउने प्रावधान विधेयकमा
- विधेयक कानुन बनेर आएपछि नागरिकताका विषयमा देखिएका धेरैजसो समस्या समाधान हुन्छन् । -भरतमणि रिजाल, प्रमुख, कानुन महाशाखा, गृह मन्त्रालय
काठमाडौँ —आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउने गरी कानुन संशोधन गर्न सरकारले विधेयक संसद्मा लगेको छ । नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकलाई गृह मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको हो । विशेष गरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्तिमा सहज पार्न नागरिकता ऐनलाई संशोधन गर्न खोजिएको छ ।नेपाली आमाबाट विदेशमा जन्मिएर नेपालमा बसोबास गरेकालाई नागरिकता प्रदान गरिने व्यवस्था विधेयकमा छ । ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ,’ विधेयकमा उल्लेख छ ।वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली महिलाले बाध्यतात्मक परिवेशमा विदेशी नागरिकसँगको सम्पर्कबाट बच्चा जन्माउन पुगेका छन् । त्यस्ता बच्चाले बाबुको परिचय नखुलेकै कारण नेपालमा नागरिकता पाउन सकिरहेका छैनन् । गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख भरतमणि रिजालले बेपत्ता बनेका विदेशी बाबु तर नेपाली आमाका सन्तानले नागरिकता नपाइरहेको समस्यालाई सम्बोधन गर्न कानुनमा संशोधनको प्रस्ताव ल्याइएको बताए ।कनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे त्यो पनि पाउने व्यवस्था विधेयकमा गरिएको छ । ऐनको दफा ८ मा (१क) थपेर ‘कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिए त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना हुनुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी दिनुपर्नेछ’ भनेर विधेयकमा व्यवस्था गरिएको छ ।बाबुको पहिचान खुले पनि लामो समयदेखि सम्पर्कविहीन रहेको वा बाबुको जिम्मेवारी पूरा नगरेको व्यक्तिको नाम सन्तानले नागरिकतामा लेखाउन नचाहे त्यो अधिकार दिन कानुन संशोधन गर्न लागिएको हो । यस सम्बन्धमा सर्वोच्च अदालतबाट पनि आदेश आएकाले नागरिकता ऐनमा संशोधनको प्रस्ताव गरिएको गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख रिजालले बताए । सर्वोच्चले विभिन्न मुद्दामा बाबु सम्पर्कविहीन भएको वा निजका बारेमा जानकारी नभएको अवस्थामा आमाको नामबाट वंशजको नागरिकता प्रमाणपत्र प्रदान गर्न आदेश गरेको छ ।
कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर निजको बाबु हाल सम्पर्कमा नरहेको अवस्थामा पनि आमाको नाममा नागरिकता जारी गर्न सकिने प्रावधान विधेयकमा गरिएको छ । ‘कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वःघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ विधेयकमा भनिएको छ ।ऐनको दफा ३ को उपदफा ५ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था छ । ‘पालिकाहरूले बाबुको नाम नभई जन्मदर्ता नै गर्दैन । जन्मदर्तामा बाबुको नाम लेखियो तर ऊ सम्पर्कमै छैन, बाबुको जिम्मेवारी पनि पूरा गरेको छैन, त्यस्तो अवस्थालाई फुकाउन ऐनमा संशोधनको प्रस्ताव गरिएको हो,’ महाशाखा प्रमुख सहसचिव रिजालले भने ।
कुमारी आमाबाट जन्म भई जन्मदर्तामा बाबुको नाम लेखिएको तर बाबु सम्पर्कविहीन रहेको तथा सन्तानले बाबुलाई वा बाबुले सन्तानलाई कहिल्यै नभेटेको एउटा मुद्दामा सर्वोच्चले आमाको नामबाट नागरिकता प्रदान गर्न आदेश गरेको थियो । सर्वोच्च अदालतको उक्त आदेशलाई समेट्न पनि ऐनमा संशोधन गर्न खोजिएको हो ।
जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्ततिलाई पनि नागरिकता प्राप्तिमा सहज बनाउन ऐनमा संशोधन गर्न खोजिएको छ । २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था नागरिकता ऐनमा छ । बाबु र आमा दुवै नेपाली नागरिक हुनुपर्ने ऐनको बाध्यकारी व्यवस्थाले कतिपयलाई नागरिकता प्राप्तिमा कठिनाइ भएको छ ।
त्यसलाई सम्बोधन गर्न ऐनमा सुधार गर्न खोजिएको छ । बाबु वा आमामध्ये कुनै एकले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको जन्मका आधारमा नागरिकता प्राप्त गर्नुअगावै मृत्यु भएको वा आमा सम्पर्कविहीन रहेको व्यक्तिका सन्तानलाई नागरिकता प्रदान गरिने प्रस्ताव संशोधन विधेयकमा गरिएको छ ।
बाबु र आमा दुवैको नागरिकता हुनुपर्ने ऐनको व्यवस्थाले कतिपयको हकमा नागरिकता प्राप्तिमा समस्या आएकाले र अदालतले पनि त्यसलाई फुकाउन आदेश गरेकाले त्यसलाई समेट्न ऐनमा संशोधनको प्रस्ताव गरिएको सहसचिव रिजालले बताए । ‘कुनै कारणले आमा र बाबुमध्ये एक जनाले जन्मका आधारमा नागरिकता लिएको छ र अर्कोले लिन सकेको छैन भने त्यस्तो स्थितिमा पनि नागरिकता प्राप्तिको बाटो यो संशोधनले खोल्नेछ,’ उनले भने ।नाबालक परिचयपत्र पनि आमाको नामबाट जारी हुने प्रावधान विधेयकमा छ । १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई तोकिएको अधिकारीले तोकिएबमोजिम नाबालक परिचयपत्र प्रदान गर्न सक्ने प्रावधान संशोधन विधेयकमा राखिएको छ ।सभार कान्तिपुर ।
‘नागरिकता प्राप्तिमा देखिएका व्यावहारिक समस्या र विभिन्न तहका अदालतबाट गरिएका आदेशलाई विधेयकले सम्बोधन गर्न खोजेको छ,’ सहसचिव रिजाले भने, ‘विधेयक कानुन बनेर आएपछि नागरिकताका विषयमा देखिएका धेरैजसो समस्या समाधान हुन्छन् ।’