मधेश प्रदेश च्याम्पियन बन्यो सिमराको नव–जनजागृति यूवा क्लब
मनाेज शाह जितपुर बारा माघ १३ गते
: सिमराको नव–जनजागृति यूवा क्लब मधेश प्रदेश च्याम्पियन बन्दै एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट भएको छ ।
आइतबार महोतरीको जलेस्वर रङ्गशालामा सम्पन्न मधेश प्रदेश लिगको फाइनलमा सप्तरीको प्रोग्रेसिभ यूवा क्लबलाई २–० ले पराजित गर्दै नवजनजागृतिले आगामी चैत्रमा हुने एन्फा प्रेसिडेन्ट लिगमा मधेश प्रदेशको प्रतिनिधित्व सुनिश्चित गरेको हो ।
२०८१ सालको बारा जिल्ला लिग च्याम्पियन बन्दै नवजनजागृतिले प्रदेश लिगमा बारा जिल्लाको प्रतिनिधित्व गरेको थियो । मधेश प्रदेशको प्रतिनिधित्व गर्दै नवजनजागृतिले पहिलोपटक एन्फा प्रेसिडेन्ट लिग खेल्नेछ ।
नवजनजागृति यूवा क्लब सिमराको जितमा विक्रम थोकर र अञ्जन बछारले समान १–१ गोल गरे । खेलको दोश्रो मिनटमै सिमराका विक्रम थोकरले सप्तरीविरुद्ध गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलको दोश्रो हाफमा सिमराले अञ्जन बछारको गोलबाट अग्रता दोब्बर बनाएको थियो । दोश्रो हाफमा सप्तरी विरुद्ध हावी भएको सिमराका अञ्जनले खेलको ५६ औं मिनटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच सिमराका रोहन तामाङ्ग घोषित भए । प्रतियोगिताको विजेता सिमराले ५० हजार र उपविजेता सप्तरीले २५ हजार रुपैयाँ प्राप्त गरेको नवजनजागृति यूवा क्लबका प्रथम उपाध्यक्ष शंकर थापाले जानकारी दिए ।