मतदाता नामावलीमा चित्त नबुझ्दा नेपाल पत्रकार महासंघ पर्सामा तालाबन्दी

रन्जित चौधरी, बारा, असार १५ गते :

नेपाल पत्रकार महासंघ पर्साको कार्यालयले प्रकाशन गरेको मतदाता नामावली चित्त बुझ्दो नदेखिएपछि नेपाल प्रेस युनियन पर्साले वीरगन्जमा रहेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा आज तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघको चुनावको माहोल तात्दै गर्दा महासंघको विधान र प्रकृया विपरीत महासंघको केन्द्रिय कार्यसमितिले महासंघको मतदाता नामावली प्रकाशित गरी जबरजस्ती निर्वाचन गराउन खोजेको भन्दै प्रेस युनियन पर्साले पत्रकार महासंघ पर्साको शाखा कार्यालयमा आज शनिबार तालाबन्दी गरेको हो । उक्त तालाबन्दी कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, जिल्ला उपाध्यक्षद्वय क्रान्ति शाह र अली असगर देवान, सचिव इरफान अली, कोषाध्यक्ष कपिलदेव यादव , युनियन पर्साका पूर्वसचिव लालकिशोर सिंह, हुकुम सिंह, प्रेस मञ्चका केन्द्रिय उपाध्यक्ष वीरेन्द्र यादव, केन्द्रिय सदस्य त्रिलोकी यादव, जाकिर हुसेन लगायतको सहभागिता रहेको थियाो ।

कुनै व्यक्ति वा समूहको स्वार्थसिद्धी गर्नेतर्फ नलागी विधाननसम्मत रुपमा मतदाता नामावली प्रकाशित गरेर मात्रै निर्वाचन प्रकृया अगाडि बढाउन माग गर्दै प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो नेतृत्वको टोलीले आज पत्रकार महासंघ पर्सा शाखाकोे कार्यालयमा तालाबन्दी गरेको हो । महासंघको केन्द्रिय नेतृत्वले जिल्ला शाखा र प्रदेश शाखाबाट पठाइएको सिफारिसलाई लत्याएर कुनै संगठन विशेषलाई मात्र लाभ हुने गरी विधि र प्रकृया मिचेर मतदाता नामावली प्रकाशित गरेको ठहर गर्दै सोको विरोध स्वरुप तालाबन्दी गर्न आफुहरु बाध्य रहेको र मतदाता नामावलीबारे उत्पन्न विवाद समाधान नभएसम्म पर्सा शाखामा निर्वाचन हुन नदिने प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोले चेतावनी दिनुभयो ।