प्रहरीलाई छलेर भागेको कारबाट २३७ किलो गाँजा बरामद, चालक जंगलमा फरार

स्पर्श खबर जितपुर बारा मंसिर १३ गते

बाराको पथलैयामा प्रहरीलाई छल्दै तीव्र गतिमा भागेको कारबाट २३७ किलो १७० ग्राम लागूऔषध गाँजा बरामद भएको छ।
अमलेखगञ्जबाट आउँदै गरेको बा १७ च २६३६ नम्बरको कारलाई पथलैयामा रोक्न खोज्दा चालक प्रहरीलाई छल्दै पूर्वतर्फ भागेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले कारलाई पछ्याएको थियो।


प्रहरीको दबाबपछि जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा पुल नजिक कार छाडेर चालक जंगलतर्फ फरार भएका हुन्।
कारको पछाडिको डिकीमा रातो प्लास्टिकले बेरेर राखिएको अवस्थामा २३७.१७ किलो गाँजा फेला परेको डीएसपी भट्टले जानकारी दिए। चालकको खोजीमा २२ जनाको प्रहरी टोलीले जंगलमा सर्च गर्दा एउटा इटेल कम्पनीको किप्याड मोबाइलसमेत फेला पारेको छ।
बरामद गाँजा र कार इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ भने फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।