गृह मन्त्रालयमा ठूलो फेरबदल : ८ जिल्लाका सीडीओ हेरफेर, पर्सामा एकदेव अधिकारी
स्पर्श खबर जितपुर बारा मंसिर १२गते:
गृह मन्त्रालयले सहसचिव तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गर्दै ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ।
मन्त्रालयको २०८३ मङ्सिर ११ गतेको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। सिन्धुपाल्चोकका सीडीओ शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ।
मन्त्रालयले अन्य पाँच सहसचिवलाई पनि विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरेको छ। गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्र कुमार मिश्रलाई दैलेख, विमल प्रसाद बराललाई महोत्तरी, शिव प्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको सीडीओको जिम्मेवारी दिइएको छ।
एकैपटक ८ जिल्लाका प्रशासनिक नेतृत्व परिवर्तन भएसँगै सम्बन्धित जिल्लाको शान्ति सुरक्षा, सुशासन र प्रशासनिक सेवा प्रवाहको जिम्मेवारी नयाँ सीडीओको काँधमा पुगेको छ।