पत्रकार महासंघ बाराको कडा चेतावनी :पत्रकारलाई पटकपटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर
मनाेज शाह जितपुर बारा मंसिर ९ गते
पछिल्लो समय देशभर पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ बारा शाखाले विरोध प्रदर्शन गरेको छ।

‘पत्रकारलाई पटकपटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने आक्रोशपूर्ण नारासहित महासंघले जिल्ला प्रशासन कार्यालय बाराअगाडि धर्ना तथा विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी पत्रकारहरूले समाचार संकलन र सम्प्रेषणका क्रममा पत्रकारलाई निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। पत्रकारमाथि हुने धरपकड, अनावश्यक गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न उनीहरूले जोडदार माग गरेका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान र बारा शाखाका अध्यक्ष रमेश सुवेदीको अगुवाइमा भएको प्रदर्शनमा पत्रकारहरूले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका छन्।
पत्रकारको कलम रोक्ने प्रयास लोकतन्त्रकै आवाज दबाउने प्रयास हो भन्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।