सीमामा सुरक्षाकर्मी देखेपछि झोला फालेर युवक फरार, ९ एमएमका २७ थान गोली बरामद

सीमामा सुरक्षाकर्मी देखेपछि झोला फालेर युवक फरार, ९ एमएमका २७ थान गोली बरामद
रौतहट मंसिर २ गते:

रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले ९ एमएमका २७ थान गोली बरामद गरेका छन्।
मंगलबार सीमा क्षेत्रमा गस्ती गरिरहेका सशस्त्र प्रहरीलाई देख्नासाथ एक युवकले झोला फालेर फरार भएका थिए। सुरक्षाकर्मीले उक्त सेतो प्लास्टिकको झोला जाँच गर्दा ९ एमएम राउन्डजस्तो देखिने २७ थान गोली फेला पारेका हुन्।
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त टोलीले गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए।
बरामद गोली कसले, कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको हो भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाउँदै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।