भीमफेदी दुर्घटनाका पीडितलाई राहत दिने सरकारको घोषणा, सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन

भीमफेदी दुर्घटनाका पीडितलाई राहत दिने सरकारको घोषणा, सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन
१४ जनाको मृत्यु, ६ जना घाइते; मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो
मकवानपुर कार्तिक २७ गते:

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको भीषण सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग तथा क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ।
छठ पर्व मनाउन घर फर्किने क्रममा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।


दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार घाइतेहरूको उपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइसकिएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।


त्यस्तै, मृतकका परिवारलाई कानुनअनुसार पाउने क्षतिपूर्ति तथा बिमा रकम र घाइतेको उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए पनि अब दुर्घटनाको कारण पहिचान, पीडितले पाउने राहत र सडक सुरक्षाको प्रभावकारी व्यवस्था कार्यान्वयनमा कति छिटो हुन्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।
सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।