मधेश सरकारमा एमालेको ‘ब्रेकअप’ : चार मन्त्रीको राजीनामा, समर्थन पनि फिर्ता

मधेश सरकारमा एमालेको ‘ब्रेकअप’ : चार मन्त्रीको राजीनामा, समर्थन पनि फिर्ता

मनाेज शाह जितपुर बारा असाेज ३० गते:

नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका चार मन्त्रीले बिहीबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।


एमालेका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्।
नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीसमेत सहभागी छ। एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेशको सत्ता समीकरणमा फेरबदल हुने सम्भावना बढेको छ।
एमालेको यो निर्णयले मधेश प्रदेश सरकारको राजनीतिक स्थिरतामाथि प्रश्न उठाएको छ। नयाँ सरकार गठनको कसरत अघि बढाउन एमालेले समर्थन फिर्ता लिएको राजनीतिक संकेत देखिएको छ। अब मधेशको सत्ता कुन दिशामा मोडिन्छ भन्ने चासो बढेको छ।