जितपुरसिमरा म्याराथनमा राजेन्द्र बम्जन र रीना तामाङको बाजी!
स्पर्श खबर जितपुर बारा असाेज ३० गते। खस आर्य समाज नेपालको आयोजनामा सम्पन्न प्रथम जितपुरसिमरा म्याराथन प्रतियोगिता–२०८३ मा पुरुषतर्फ राजेन्द्र बम्जन र महिलातर्फ रीना तामाङ प्रथम भएका छन्।
सिमराको रामजानकी मन्दिरबाट पथलैया हुँदै पुनः मन्दिरमै पुगेर सम्पन्न प्रतियोगितामा करिब दुई सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
३५ वर्षमाथिको पुरुषतर्फ बम्जनले ३३ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जित्दा चिरञ्जीवी पोखरेल दोस्रो र कुमार थापा तेस्रो भए। महिलातर्फ रीना तामाङले ५२ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। जनकी खड्का दोस्रो र मीना श्रेष्ठ तेस्रो भइन्। ६० वर्षमाथिको समूहमा गंगाप्रसाद मैनाली प्रथम भए।
विजेतालाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले म्याराथनले स्वस्थ जीवनशैली, अनुशासन र सामाजिक एकता प्रवर्द्धन गर्ने बताए।
खस आर्य समाज नेपालका अध्यक्ष शरद पराजुलीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। प्रतियोगितामा बिहानी ग्रुप र भूतपूर्व सैनिकले सहकार्य गरेका थिए।