कांग्रेसको १५औँ महाधिवेशनमा मेघा शाहीको दाबी : मधेसबाट केन्द्रीय नेतृत्वमा युवाको आवाज
स्पर्श खबर जितपुर बारा असाेज २० गते:
नेपाली कांग्रेसकी युवा नेतृ मेघा शाहीले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनले मधेस प्रदेश भूगोलतर्फ महिला केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएकी हुन्।
शाहीले पार्टीको संगठनलाई थप सुदृढ बनाउने, राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता बढाउने तथा महिलाको नेतृत्वलाई केन्द्रीय तहमा स्थापित गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्। नयाँ पुस्ताको आवाजलाई पार्टीको निर्णय तहसम्म प्रभावकारी रूपमा पुर्याउने उनको दाबी छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ निवासी शाही नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदमा कांग्रेसबाट उम्मेदवार बनेकी थिइन्। निर्वाचनमा उनले १५ हजार ८४२ मत प्राप्त गरेकी थिइन् भने एमालेका भोला प्रसाद अधिकारी १७ हजार ४९२ मतसहित निर्वाचित भएका थिए।
राजनीतिक परिवारको पृष्ठभूमिबाट आएकी शाही संविधानसभा सदस्य मधु शाहीकी छोरी हुन्। स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरिसकेकी शाहीले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो राजनीतिक भूमिका विस्तार गर्ने लक्ष्यसहित महाधिवेशनमा दाबी प्रस्तुत गरेकी छन्।
उनको उम्मेदवारीसँगै मधेसबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा महिला र युवा पुस्ताको प्रतिनिधित्वको बहस पनि थप पेचिलो बनेको छ। अब महाधिवेशन प्रतिनिधिको मतबाट उनको दाबी कति बलियो रूपमा स्थापित हुन्छ भन्ने विषय महाधिवेशनको निर्वाचन परिणामले तय गर्नेछ।