वडामै भुक्तानीको अधिकार, अब गल्तीको जिम्मेवारी पनि वडाकै : नगरप्रमुख पौडेल
स्पर्श खबर जितपुर बारा असाेज १७ गते:
जीतपुरसिमरा उपमहानगरपालिकाले वडा तहबाटै भुक्तानी प्रक्रिया सुरु गरेसँगै वडा सचिव तथा प्राविधिक कर्मचारीलाई सार्वजनिक खरिद र स्थानीय वित्त व्यवस्थापनसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ।

उपमहानगरपालिकाको सभाहलमा नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा सुरु भएको तालिममा २४ वटै वडाका वडा सचिव तथा प्राविधिक कर्मचारी सहभागी छन्।
तालिम उद्घाटन गर्दै नगरप्रमुख पौडेलले आफू निर्वाचित भएदेखि नै वडा तहबाटै भुक्तानी प्रणाली लागू गर्ने प्रयास गरे पनि विभिन्न कारणले कार्यान्वयन हुन नसकेको बताए।

अहिले उपसचिवस्तरको कर्मचारी पदपूर्ति भएपछि वडा तहको भुक्तानीलाई निगरानी र व्यवस्थापन गर्न सहज भएकाले अधिकार वडामै दिइएको उनको भनाइ छ।
पौडेलले सार्वजनिक खरिद ऐन र कानुनी प्रक्रिया नछोडी काम गर्न वडा सचिवलाई कडा निर्देशन दिए। “काम गर्दा समस्या आउन सक्छ भनेर कामै नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उनले भने, “अधिकारसँगै जिम्मेवारी र जवाफदेहिता पनि वडामै पुगेको छ।

वडा सचिवले अब वडा कार्यालयको प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख र योजना प्रमुखको भूमिकासमेत निर्वाह गर्नुपर्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने पौडेलले बताए। सेवाग्राहीले प्रक्रियाभन्दा कामको नतिजा र सेवा खोज्ने भएकाले कानुनी प्रक्रिया पूरा गर्ने जिम्मेवारी कर्मचारीकै भएको उनको भनाइ छ।
वडा सचिव हरिनारायण साह झलकले नयाँ जिम्मेवारीअनुसार कर्मचारीको क्षमता बढाउनुपर्ने र जनप्रतिनिधि तथा कर्मचारीबीच देखिन सक्ने मतभेदलाई स्पष्ट जिम्मेवारी र संवादमार्फत समाधान गर्नुपर्ने बताए।

प्रशासन महाशाखा प्रमुख उमेश वाग्लेले ७५३ स्थानीय तहमध्ये वडा तहबाटै भुक्तानी प्रक्रिया व्यवस्थापन गर्ने कार्यमा जीतपुरसिमरा अगाडि रहेको दाबी गरे। वित्तीय संघीयतालाई प्रभावकारी बनाउन तालिम आयोजना गरिएको उनले बताए।
दुईदिने तालिममा आर्थिक प्रशासन महाशाखा प्रमुख हरिशंकर राउत कुर्मी र पूर्वाधार विकास महाशाखा प्रमुख अभयकान्त झाले सार्वजनिक खरिद तथा स्थानीय वित्त व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनेछन्।