पत्रकारिताबाट राजनीतिमा छलाङ : पासवान र दास कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
स्पर्श खबर जितपुर बारा असाेज १६ गते:
पत्रकारिताको क्षेत्रमा सक्रिय नेपाल पत्रकार महासंघका दुई पदाधिकारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बाराबाट सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान र महासंघ बारा शाखाकी उपाध्यक्ष प्रियंका दास सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
समाजका विकृति, विसंगति र जनसरोकारका मुद्दालाई सञ्चारमाध्यममार्फत उठाउँदै आएका पासवान र दासले अब राजनीतिक तथा सामाजिक मञ्चबाट पनि नागरिकका सवाललाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।
पत्रकारिताको व्यावसायिक मर्यादा र निष्पक्षता कायम राख्दै राजनीति र समाजसेवामार्फत जनताको पक्षमा काम गर्ने उनीहरूको भनाइ छ। दुवै जना सर्वसम्मत निर्वाचित भएपछि सञ्चारकर्मी तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।