२४ वटै वडामा वित्तीय अधिकार, अब भुक्तानीका लागि नगर धाउन नपर्ने
स्पर्श खबर जितपुर बारा असाेज १५ गते:
जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ देखि वडा तहबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको खर्च तथा भुक्तानी सम्बन्धित वडा कार्यालयबाटै गर्ने व्यवस्था गरेको छ।
उपमहानगरपालिकाले २४ वटै वडा सचिवलाई खर्च गर्ने अख्तियारी प्रदान गर्दै सडक, नाला, खानेपानी, भवन, सरसफाइलगायत वडा स्तरका योजनाको भुक्तानी वडा कार्यालयबाटै गर्ने निर्णय गरेको हो।
नयाँ व्यवस्थासँगै उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सेवाग्राहीले योजना सम्पन्न भएपछि भुक्तानीका लागि नगरपालिकाको केन्द्रीय कार्यालय धाउनुपर्ने झन्झट घट्ने अपेक्षा गरिएको छ।
तर अधिकारसँगै वित्तीय अनुशासनको जिम्मेवारी पनि वडा तहमा पुगेको छ। स्वीकृत बजेटबाहेक खर्च गर्न नपाइने, लेखा राख्नुपर्ने, लेखापरीक्षण गराउनुपर्ने तथा सरकारी सम्पत्तिमा हानी नोक्सानी भए सम्बन्धित अधिकारी नै जिम्मेवार हुने अख्तियारीपत्रमा स्पष्ट गरिएको छ।
सेवा वडा कार्यालयमै पुग्ने व्यवस्था भए पनि अब वडाको खर्चमा पारदर्शिता र जवाफदेहिता परीक्षण हुने चुनौती थपिएको छ।