सिंहदरबारमा आज प्रतिनिधिसभा बैठक : पाँच विधेयक एजेन्डामा, चार समिति पनि बस्दै

सिंहदरबारमा आज प्रतिनिधिसभा बैठक : पाँच विधेयक एजेन्डामा, चार समिति पनि बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेदेखि विधेयक पारित गर्ने कार्यसूची रहेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैबीच, आज चार संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिले छुट्टाछुट्टै विषयमा छलफल गर्नेछन्।