जितपुर सिमरामा सर्पदंश उपचार केन्द्र खोल्न एक साताभित्र स्वीकृति दिने प्रतिबद्धता
स्वास्थ्य विभागको आश्वासन, नगर अस्पतालमा आवश्यक प्रविधि रहेको एमाले नेता पौडेलको दाबी
स्पर्श खबर जितपुर बारा असाेज २ गते:
जितपुर सिमरा उपमहानगरपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि एक साताभित्र स्वीकृति दिने प्रतिबद्धता स्वास्थ्य सेवा विभागले जनाएको छ।
नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेलले स्वास्थ्य सेवा विभागका निमित्त निर्देशक तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. अनुज भट्टचनसँग आज गरेको छलफलमा यस्तो प्रतिबद्धता आएको बताउनुभयो।
छलफलमा डा. भट्टचनले आवश्यक प्रक्रिया पूरा गरी अर्को हप्ताभित्र उपचार केन्द्र सञ्चालनको अनुमति दिने प्रतिबद्धता जनाउनुभएको पौडेलको भनाइ छ।
सर्पदंश उपचार केन्द्रका लागि नागरिकमा जनचेतना फैलाउनुपर्ने तथा आईसीयू, भेन्टिलेटरलगायतका उपकरणको व्यवस्था आवश्यक रहेको डा. भट्टचनले बताउनुभयो।
जवाफमा पौडेलले जितपुर सिमराको नगर अस्पतालमा तत्काल आवश्यक प्रविधि रहेको र आवश्यकताअनुसार उपमहानगरपालिकाले थप उपकरण तथा सेवा विस्तार गर्दै लैजाने स्पष्ट पार्नुभयो।