चुनाव हारे पनि जनताको दुःखमा ५१ लाखको साथ : अनिल रुङ्गटाको मानवीय उदाहरण
स्पर्श खबर जितपुर बारा भदौ १७ गते:
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
बाढीका कारण घरबारविहीन भएका, सम्पत्ति गुमाएका तथा जनजीवन संकटमा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले रुङ्गटाले उक्त सहयोग गरेका हुन्।
विपद्को पीडादायी घडीमा राजनीतिक स्वार्थभन्दा माथि उठेर पीडित नागरिकको साथमा उभिनुपर्ने सन्देश दिँदै उनले आर्थिक सहयोग गरेको बताएका छन्। बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको उनको भनाइ छ।
पर्सा जिल्ला क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएका रुङ्गटाले निर्वाचनमा हार व्यहोरे पनि सामाजिक उत्तरदायित्वबाट पछि नहटेको देखाएका छन्। चुनाव जितेपछि मात्र जनताको सेवा गर्न सकिन्छ भन्ने सोचलाई उनको यो कदमले चुनौती दिएको स्थानीयले बताएका छन्।
यति मात्र होइन, भोटेकोशी–त्रिशूली क्षेत्रमा सञ्चालन हुने पुनर्निर्माण अभियानका लागि जगदम्बा इन्टरप्राइजेजले निर्माण सामग्रीमा अधिकतम छुट प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। यसले बाढीबाट ध्वस्त संरचना पुनर्निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रुङ्गटाको ५१ लाख रुपैयाँको सहयोगलाई बाढीपीडित परिवारका लागि केवल आर्थिक सहयोगका रूपमा मात्र नभई मानवीय सहकार्य, सामाजिक उत्तरदायित्व र संकटका बेला निजी क्षेत्रको भूमिकाको उदाहरणका रूपमा हेरिएको छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा निजी क्षेत्रबाट आएको यस्तो सहयोगले उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका काममा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
राजनीति चुनाव जित्ने वा हार्ने विषय हुन सक्छ, तर मानवता हार्नु हुँदैन भन्ने सन्देश अनिल रुङ्गटाको यो सहयोगले दिएको छ।