तीन महिनादेखि बेपत्ता ११ वर्षीया बालिका वीरगन्जमा फेला, आमासँग पुनर्मिलन
स्पर्श खबर जितपुर बारा भदौ ९ गते:
जीतपुरसिमरा उपमहानगरपालिका वडा ६ सिदरिया टाेल बाट करिब तीन महिनादेखि सम्पर्कविहीन रहेकी ११ वर्षीया बालिका वीरगन्जमा फेला परेकी छन्। एक संस्थाले संरक्षण गरेर राखेको अवस्थामा बालिकाको सकुशल उद्धार भएको हो।

बालिका फेला परेपछि उनकी आमा गुलाप्सा खातुनले छोरीसँग भेट गरेकी छन्। मंगलबार दिउँसो आमाले इलाका प्रहरी कार्यालय सिमरामा छोरीको खोजतलासका लागि निवेदन दिएकी थिइन्। निवेदन दिएको केही घण्टामै बालिका वीरगन्जमा रहेको पत्ता लागेको हो।
खोजतलासको निवेदन परेपछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सरोज निरौला, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्ट तथा इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख वरिष्ठ प्रहरी निरीक्षक उमेश निरौलासहितको सुरक्षा टोली बालिकाको घरमा पुगेर घटनाबारे वस्तुस्थिति बुझेको थियो।

सुरक्षा निकायको टोलीले घरमा पुगेर जानकारी संकलन गरेको केहीबेरमै बालिका एक संस्थाको संरक्षणमा रहेको खुलेको हो। तीन महिनाअघि घरबाट निस्किएपछि उनी परिवारको सम्पर्कमा आएकी थिइनन्।
प्रहरीका अनुसार बालिका यसअघि पनि पटक–पटक घरबाट बाहिरिने गरेकी थिइन् र प्रहरीले खोजी गरी परिवारको जिम्मा लगाउँदै आएको थियो। पछिल्लो पटक भने लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएको थियो।