जीतपुरसिमराका ८ सामुदायिक विद्यालयमा ‘उज्यालो परियोजना’, ६५ लाख लगानीमा शैक्षिक गरिबी हटाउने अभियान
स्पर्श खबर जितपुर बारा साउन २५ गते:
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका ८ वटा सामुदायिक आधारभूत विद्यालयमा ‘उज्यालो परियोजना’ सञ्चालन हुने भएको छ। सूर्य नेपाल प्रालिको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६५ लाख रुपैयाँको लागतमा ‘जिरो एजुकेशन पोभर्टी–जेडईपी’ अवधारणामा आधारित परियोजना सञ्चालन गर्न लागिएको हो।
परियोजना कार्यान्वयनका लागि युनाइटेड वर्ल्ड स्कुल्स नेपाल, जीतपुरसिमरा उपमहानगरपालिका र सहभागी विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतामा युनाइटेड वर्ल्ड स्कुल्स नेपालको तर्फबाट अशोक घिमिरे र उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख राजन पौडेलले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा नगरप्रमुख पौडेलले उपमहानगरपालिकाको सर्वेक्षणले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको सामाजिक तथा आर्थिक अवस्थाबीच ठूलो अन्तर देखाएको बताए। उनका अनुसार दलित, विपन्न तथा मुस्लिम समुदायका बालबालिकाको ठूलो संख्या सामुदायिक विद्यालयमा अध्ययनरत छन् भने विद्यार्थीको सिकाइ अवस्था पनि कमजोर पाइएको छ।
“कक्षा ३ मा सिक्नुपर्ने आधारभूत कुरा कक्षा ८ पुग्दासमेत विद्यार्थीले सिक्न नसकेको अवस्था छ,” नगरप्रमुख पौडेलले भने।
उनका अनुसार परियोजनाको उद्देश्य विद्यार्थी संख्या बढाउनु मात्र नभई सामुदायिक विद्यालयका बालबालिकालाई पढ्न, अक्षर चिन्न, लेख्न र आधारभूत कुरा सिक्न सक्ने बनाउनु हो।
परियोजनाअन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक तथा प्रधानाध्यापकको क्षमता अभिवृद्धि, शिक्षण–सिकाइ सामग्रीको प्रयोग, प्राविधिक सहयोग, विद्यार्थी तथा शिक्षकको नियमित उपस्थिति र विद्यालयको शैक्षिक वातावरण सुधारमा काम गरिनेछ।
त्यस्तै, आमा समूह, छात्रा समूह तथा विद्यालय अवधारणा टोली निर्माण गरी अभिभावक र समुदायको सहभागिता बढाइनेछ। बाल संरक्षणलाई समेत प्राथमिकता दिँदै विद्यालयमा हुने हिंसा तथा दुर्व्यवहारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने परियोजनाले जनाएको छ।
सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू भई एक वर्षसम्म सञ्चालन हुने परियोजनाले ८ वटै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्दै आधारभूत शिक्षाको स्तर उकास्ने लक्ष्य लिएको छ।
कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत हरिस भट्टराईसहित सहभागी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो।