जितपुरमा प्रहरी प्रमुखको एक्सन : १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

जितपुरमा प्रहरीको धमाका एक्सन : १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ
मनाेज शाह जितपुर बारा साउन २४ गते:

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलमा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।


इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख बरिस्ठ प्रहरी नायब निरिक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरेन्द्र बैठाको आफ्नै घरको आँगनबाट लागूऔषध गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार बैठाको घरको आँगनबाट ७० वटा पुरियामा रहेको ३८६ ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ३५० ग्राम गरी जम्मा १ किलो ७४४ ग्राम गाँजा बरामद गरिएको हो। लागूऔषधसहित पक्राउ परेका बैठालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुरमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक निरौलाको कमाण्डमा जितपुर क्षेत्रमा लागूऔषध तथा चोरी–डकैतीविरुद्ध प्रहरी कारबाही तीव्र बनेको स्थानीयको भनाइ छ। निरौला जितपुरमा प्रमुखको जिम्मेवारीमा आएयता करिब तीन महिनाको अवधिमा चोरी–डकैतीसम्बन्धी मुद्दामा १० जनालाई पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाइएको तथा लागूऔषध कारोबारमा संलग्न ९ जनालाई ब्राउन सुगर र गाँजासहित पक्राउ गरिएको बताइएको छ।


स्थानीय समाजसेवी श्रीराम शाहका अनुसार, पछिल्लो समय निरौलाको सक्रियता र प्रहरीको निरन्तर एक्सनका कारण जितपुर क्षेत्रमा चोरी–डकैती तथा लागूऔषध कारोबारमा संलग्नहरूमा त्रास बढेको छ।
देशका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक तनावका घटना भइरहेका बेला जितपुर क्षेत्रमा भने हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न प्रहरी सफल भएको शाहको भनाइ छ।
स्थानीयका अनुसार प्रहरीको सक्रियताले अपराध नियन्त्रणमा सकारात्मक प्रभाव परेको छ। प्रहरी प्रशासनले पनि लागूऔषध, चोरी–डकैती तथा अन्य आपराधिक गतिविधिविरुद्ध अभियानलाई थप कडाइका साथ निरन्तरता दिने जनाएको छ।