पर्साका युवा अलि अख्तरको उदाहरणीय पहल : परवानीपुर–वीरगञ्ज सडकमा दुर्घटना न्यूनीकरण गर्न १६ वटा ड्रम
स्पर्श खबर जितपुर बारा साउन २३ गते:
पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी युवा समाजसेवी तथा व्यापारी अलि अख्तर आलमले सडक दुर्घटना न्यूनीकरणका लागि उदाहरणीय पहल गरेका छन्।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत परवानीपुर क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा १६ वटा ड्रम राखिएको हो। ती ड्रमले सवारी चालकलाई सडकको जोखिमपूर्ण क्षेत्रमा सचेत गराउने तथा सवारी आवागमनलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

परवानीपुरमा आयोजित कार्यक्रममा समाजसेवी, युवा, व्यापारी, बुद्धिजीवी तथा प्रहरी प्रशासनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अलि अख्तर आलमको नेतृत्वमा ड्रम राख्ने कार्य सम्पन्न गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै अलि अख्तर आलमले समाजको हितका लागि आफू निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “म आफ्नो समाजका लागि जहिले पनि काम गर्नेछु। कसैको मुख हेर्ने छैन, समाजको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर काम गर्दै अगाडि बढ्नेछु।”
सडक दुर्घटना बढ्दै गएको अवस्थामा सडक सुरक्षाका लागि स्थानीय स्तरबाट गरिएको यस्तो पहललाई सकारात्मक रूपमा हेरिएको छ।

स्थानीयवासीले पनि अलि अख्तरले थालेको अभियानलाई उदाहरणीय र प्रशंसनीय काम भन्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने बताएका छन्।
यता, ट्राफिक प्रहरीले पनि सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको अनिवार्य पालना गर्न तथा सवारी साधन चलाउँदा सावधानी अपनाउन चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

स्थानीयका अनुसार दुर्घटना न्यूनीकरणका लागि राज्यको मात्रै मुख ताक्नुभन्दा समाजका युवाहरू स्वयं जिम्मेवार भएर अघि बढ्नु सकारात्मक सन्देश हो। अलि अख्तरको यो पहलले सडक सुरक्षासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्न अन्य युवालाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।