चकरी–नयाबस्ती–अमलेखगञ्ज क्षेत्रमा तीन दिन दैनिक ६ घण्टा विद्युत् अवरुद्ध

चकरी–नयाबस्ती–अमलेखगञ्ज क्षेत्रमा तीन दिन दैनिक ६ घण्टा विद्युत् अवरुद्ध
स्पर्श खबर जितपुर बारा साउन १७ गते:

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ अन्तर्गत चकरीदेखि नयाबस्ती हुँदै अमलेखगञ्ज क्षेत्रसम्म लगातार तीन दिन दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
सिमरा वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनको स्तरोन्नति गर्ने क्रममा पुरानो एसीएसआर (ACSR) कन्डक्टर हटाई आधुनिक कभर्ड कन्डक्टर (Covered Conductor) जडान गरिने भएकाले साउन १७, १८ र १९ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
केन्द्रले विद्युत् प्रणालीलाई अझ सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउने तथा भविष्यमा आउन सक्ने प्राविधिक समस्या न्यूनीकरण गर्ने उद्देश्यले उक्त स्तरोन्नतिको काम गर्न लागिएको जनाएको छ। काम सम्पन्न भएपछि चकरी, नयाबस्ती, अमलेखगञ्ज तथा आसपासका क्षेत्रमा विद्युत् सेवा थप सुरक्षित र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।
विद्युत् अवरुद्ध हुने अवधिमा आवश्यक वैकल्पिक व्यवस्था मिलाउन सिमरा वितरण केन्द्रले सबै उपभोक्तासँग आग्रह गरेको छ। साथै मर्मत तथा स्तरोन्नति कार्यका कारण पर्न सक्ने असुविधाप्रति केन्द्रले क्षमायाचना गर्दै सहयोग र संयमताका लागि अनुरोध गरेको छ।