जनताको सुरक्षाका लागि छाती थाप्ने प्रहरीको पीडा कसले बुझ्छ?’
मनाेज शाह जितपुर बारा श्रवण १५ गते:
नेपालमा कुनै पनि दुखद घटना, प्राकृतिक विपत्ति, आगलागी, चोरी–तस्करी, दुर्घटना वा ठूला आन्दोलन हुँदा सबैभन्दा अगाडि उभिने संस्था नेपाल प्रहरी हो। जोखिमपूर्ण परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी जनताको सुरक्षाका लागि प्रहरी निरन्तर खटिन्छ। तर सुरक्षा दिँदै गर्दा उनीहरूले भोग्ने पीडा र कठिनाइबारे भने कमै चर्चा हुने गरेको छ।

एक प्रहरी अधिकृतका अनुसार प्रहरी पनि आखिर एउटा सामान्य मानिस नै हो। “हामीलाई पनि थकाइ लाग्छ, हाम्रो पनि परिवार छ, आफ्ना बालबच्चा छन्। तर ड्युटीको जिम्मेवारीका कारण हामी दिन–रात नभनी घरपरिवार छोडेर खटिनुपर्छ,” उनले बताए।
उनका अनुसार हावाहुरी, बाढीपहिरो, आगलागी, दुर्घटना, चोरी–तस्करी नियन्त्रणदेखि लिएर आन्दोलन व्यवस्थापनसम्मका सबै जोखिमपूर्ण जिम्मेवारी प्रहरीले नै निर्वाह गर्नुपर्छ। कतिपय अवस्थामा शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरी आफैं घाइते हुने, जनताबाट कुटपिटसमेत सहनुपर्ने अवस्था आउने गरेको उनी बताउँछन्।
“कहिले कहाँ खाना खान पाइन्छ, कहिले कहाँ सुत्न पाइन्छ भन्ने निश्चित हुँदैन। धेरै रात घर नफर्की ड्युटीमै बिताउनुपर्छ। परिवारसँग समय बिताउने अवसर पनि निकै कम हुन्छ,” ती अधिकृतले गुनासो गरे।
प्रहरी संगठनले देशभर शान्ति, सुरक्षा र कानुनको पालना गराउन चौबीसै घण्टा सेवा दिइरहेको छ। नागरिकको सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिने प्रहरीको योगदानसँगै उनीहरूको कठिन जीवन, मानसिक दबाब र पारिवारिक त्यागलाई पनि समाजले बुझ्नुपर्ने आवाज उठ्न थालेको छ।