उमेश निरौलाको एक्सन फेरि कडा : चोरी, लागूऔषध र तस्करीमा संलग्नहरूमा त्रास, श्रीराम खाद्य उद्योग चोरी प्रकरणमा तीन पक्राउ
मनाेज शाह जितपुर बारा श्रवण १० गते: इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक उमेश निरौला नेतृत्वको टोलीले चोरी, लागूऔषध तथा तस्करी नियन्त्रण अभियानलाई थप आक्रामक बनाउँदै अर्को सफलता हासिल गरेको छ।

पछिल्लो पटक जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित रातोपुल नजिक रहेको श्रीराम खाद्य उद्योगबाट लाखौं रुपैयाँ बराबरका सामान चोरी भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार विगत तीन वर्षदेखि बन्द अवस्थामा रहेको र कम्पाउन्ड वालसमेत नभएको उक्त उद्योगबाट विभिन्न मेसिन तथा फलामजन्य सामग्री चोरी भएको भन्दै उद्योग सञ्चालक रामबाबु प्रसाद साह कलवारले इलाका प्रहरी कार्यालय जीतपुरमा लिखित उजुरी दिएका थिए।

उजुरी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले तीव्र अनुसन्धान सञ्चालन गर्दै १,५०० थान ग्यास चुलो राख्ने स्ट्यान्ड (चुलो) सहित तीन जनालाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ पर्नेहरूमा जीतपुरसिमरा–५ का २२ वर्षीय बादल मियाँ, जीतपुरसिमरा–७ का ३० वर्षीय वृक्ष महतो र २८ वर्षीय राजु जैसवाल रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय जीतपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उद्योगबाट १५ थान मोटर, एक थान प्यानल बोर्ड, चार वटा फलामका डिस्क, करिब दुई टन कवाडी फलाम, दुई थान बोरिङ, एक थान क्लच प्लेट तथा १२ भोल्टका दुई थान पुराना ब्याट्री चोरी भएका थिए। चोरी भएका सामानको अनुमानित मूल्य रु. ४ लाख १५ हजार रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख उमेश निरौलाको नेतृत्वमा पछिल्लो समय लागूऔषध कारोबार, चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध लगातार भइरहेको कारबाहीका कारण आपराधिक समूहमा त्रास फैलिएको स्थानीयले बताएका छन्। प्रहरीले अपराध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहने जनाएको छ।