आसारे बजेटको आडमा विकास कि ब्रह्मलुट ? जितपुरसिमरामा बोर्डबिनै निर्माण, स्थानीय आक्रोशित

आसारे बजेटको आडमा विकास कि ब्रह्मलुट ? जितपुरसिमरामा बोर्डबिनै निर्माण, स्थानीय आक्रोशित

स्पर्श खबर जितपुर बारा असार १६ गते:

जितपुरसिमरा उपमहानगरपालिकामा आसारे बजेट सक्ने नाममा सूचना बोर्डबिनै विकास निर्माणका काम धमाधम भइरहेको भन्दै स्थानीयले गम्भीर प्रश्न उठाएका छन्। वडा नं. ३ रामवन–टाढीमा सडक ढलान तथा वडा नं. २ मुसर्णीमाईमा नाला ढलानको काम योजना, बजेट, ठेकेदार वा कार्यान्वयन निकायको विवरणसमेत सार्वजनिक नगरी भइरहेको देखिएको छ।


स्थानीयका अनुसार निर्माणस्थलमा सूचना बोर्ड नहुँदा काम कसले गरिरहेको हो, कति बजेटमा भइरहेको हो र कुन योजनाअन्तर्गत भइरहेको हो भन्नेबारे सर्वसाधारण पूर्ण रूपमा अनभिज्ञ छन्। अझ वर्षाको पानी बगिरहेकै अवस्थामा ढलान गरिएको दृश्यले निर्माणको गुणस्तरमाथि समेत प्रश्न उठाएको छ।


स्थानीय युवराज लामाले विकासको नाममा विनाश भइरहेको आरोप लगाउँदै नगर प्रमुख र उपप्रमुखले यस्ता योजनाको स्थलगत अनुगमन किन नगरेको भन्दै प्रश्न उठाएका छन्। उनका अनुसार जनताको करबाट सञ्चालन हुने योजनामा पारदर्शिता र जवाफदेहिता अनिवार्य हुनुपर्ने हो।
स्थानीयवासीले सम्बन्धित निकायसँग सबै योजनामा सूचना बोर्ड राख्न, बजेट तथा जिम्मेवार निकाय सार्वजनिक गर्न र निर्माण कार्यको निष्पक्ष अनुगमन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।