जितपुरसिमरा उद्योग वाणिज्य सङ्घमा ‘रातारात समीकरण’ : शिवजी–गजेन्द्र एउटै प्यानलमा, मनोजसँग सीधा भिडन्तको संकेत
स्पर्श खबर जितपुर बारा असार ३ गते: जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको आगामी निर्वाचन झन् रोमाञ्चक मोडमा पुगेको छ।

अध्यक्ष पदका लागि चर्चामा रहेका तीन प्रभावशाली उम्मेदवार मनोज गुप्ता, शिवजी शाह र गजेन्द्र गुप्ता मध्ये अन्तिम समयमा आएर नयाँ राजनीतिक तथा व्यावसायिक समीकरण बनेको दाबी गरिएको छ।
आन्तरिक स्रोतका अनुसार मंगलबार राति करिब ९ बजे भएको गोप्य छलफलमा गजेन्द्र गुप्ता र शिवजी शाहबीच एउटै प्यानलबाट निर्वाचन लड्ने सहमति भएको बताइएको छ।

स्रोतका अनुसार उक्त छलफलमा “गजेन्द्र गुप्ता अध्यक्ष पदमा उम्मेदवारी दिने र शिवजी शाह उपाध्यक्ष/वरिष्ठ पदमा रहने” समझदारी बनेको जानकारी प्राप्त भएको छ। यद्यपि, यसबारे दुवै पक्षबाट औपचारिक पुष्टि भने हुन बाँकी छ।
यसअघि अध्यक्ष पदमा तीन पक्षीय प्रतिस्पर्धा हुने चर्चा रहे पनि पछिल्लो समीकरणसँगै चुनाव दुई प्यानलबीचको सीधा भिडन्तमा रुपान्तरण हुने प्रबल सम्भावना देखिएको व्यापारीहरू बताउँछन्।
व्यापारी रमेश शाह भन्छन्, “शिवजीजीले हरेक चुनावमा म अध्यक्षमा लड्छु भन्नुहुन्छ, तर अन्तिम समयमा गएर अर्कैलाई समर्थन गर्ने प्रवृत्ति देखिन्छ।

यसपटक पनि त्यस्तै अवस्था दोहोरिएको जस्तो देखिएको छ।”
यता व्यापारी चन्दकिशोर शाहले अबको प्रतिस्पर्धा स्पष्ट बन्दै गएको बताए। उनका अनुसार, “अब मनोज गुप्ता र गजेन्द्र गुप्ताबीच नै मुख्य भिडन्त हुने देखिन्छ। व्यापारीहरू पनि कसले उद्योगी–व्यापारीको हितमा काम गर्न सक्छ भन्ने मूल्याङ्कनमा जुटेका छन्।”
निर्वाचन अधिकृत सुनिल गाउँलेका अनुसार आज असार ३ गते बिहान ११ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुनेछ। उम्मेदवारी दर्तापछि वास्तविक चुनावी तस्वीर अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।
अहिले जितपुरसिमराका उद्योगी–व्यापारीहरूमा एउटै चासो छ—सङ्घको नेतृत्व कसले सम्हाल्छ ? पुरानै अनुहारको निरन्तरता कि नयाँ सोचको नेतृत्व ?
निर्वाचनको मिति नजिकिँदै जाँदा जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको चुनावी माहोल थप तातिएको छ भने व्यापारी समुदायको नजर अब उम्मेदवारी दर्तापछि बन्ने अन्तिम समीकरणतर्फ केन्द्रित भएको छ।